विश्वकप खेल्ने नेपालको चुनौति समाप्त

काठमाडौं (खेलदैनिक) । आइसीसी यु१९ महिला टि–२० क्रिकेट विश्वकपको एसियाली छनौटतर्फ नेपाल एक खेल खेल्नु अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । महत्वपूर्ण मानिएको खेलमा मंगलबार नेपालले थाइल्याण्डसँग ४९ रनले पराजित हुन पुग्यो ।

विश्वकपमा आफ्नो झिनो सम्भावना कायम राख्न नेपालले थाइल्याण्ड विरुद्ध निश्चित जित हात पार्नुपर्ने थियो । तर नेपाली टोली निराशाजनक रुपमा पराजित हुन पुग्यो ।

टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले थाइल्याण्डलाई निर्धारित २० ओभरमा ८९ रन मात्र बनाउन दियो । यद्यपि जवाफी लक्ष्य पछ्याएको नेपालले १९.५ ओभर खेल्दै ४० रनमा अलआउट हुन पुग्यो । नेपालका लागि कुनै खेलाडीले दोहोरो रन बटुल्न सकेनन् ।

नेपालको चार खेलबाट ४ अंक मात्र छ । उता समान खेलबाट ८ अंक जोडेको थाइल्याण्डको विश्वकपमा छनौट हुने सम्भावना थप बलियो बनेको छ ।

आफ्नो पहिलो खेलमा कतारलाई हराएको नेपालले दोस्रो खेलमा भने युएईसँग पराजित भएको थियो । नेपालले आफ्नो लिग चरणको अन्तिम खेल आयोजक मलेसियासँग खेल्न बाँकी छ । यद्यपि त्यो खेल नेपाली टोलीका लागि प्रतिष्ठाको भिडन्तका रुपमा मात्र हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...