हरिकेन्स विरुद्ध नेपाल ब्याटिङ र बलिङ दुवैमा अब्बल

काठमाडौं (खेलदैनिक) । ब्याटिङ र बलिङ दुवैमा राम्रो प्रदर्शन गरेपछि अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले शनिबार अबेर राती सम्पन्न दोस्रो अभ्यास म्याचमा हुस्टन हरिकेन्स विरुद्ध २९ रनको जित निकालेको छ ।

टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर २५० रनको योगफल तयार पारेको थियो । नेपालका लागि रनआउट हुनु अघि कप्तान रोहित पौडेलले १०१ रनको शतकीय पारी खेले । त्यस्तै आरिफ शेखले पनि ४१ रनको महत्वपूर्ण योगदान दिए ।

जवाफी लक्ष्य पछ्याएको हरिकेन्स भने ४३.३ ओभर खेल्दै २२१ रन बनाएर अलआउट भएको थियो । हरिकेन्सका लागि निहाद निम्बल्करले ९९ रन बनाए र शतक बनाउनबाट एक रनले चुके । त्यस्तै रमिज राजा जुनियरले २९ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका लागि सोमपाल कामीले ५ विकेट लिए । त्यस्तै किशोर महतो र सागर ढकालले समान २–२ विकेट लिंदा करन केसीले एक विकेट आफ्नो नाममा लेखाए ।

ट्राई नेशन्स सिरिजका लागि अमेरिकामा छ नेपाली टोली

स्मरण रहोस् आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तरगत ट्राई सिरिज खेल्न नेपाली क्रिकेट टोली हाल अमेरिकामा छ । ८ जुनदेखि शुरु हुन गईरहेको एकदिवसीय सिरिजमा नेपालसँगै आयोजक अमेरिका र ओमान रहेका छन् । नेपालले ९ जुनका दिन ओमानसँग खेल्दै सिरिजको शुरुवात गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...