नेपालको शानदार शुरुवात

काठमाडौं (खेलदैनिक) । मलेसियामा शुरु आइसीसी यु–१९ टि–२० महिला क्रिकेट विश्वकपको एसियाली छनौटतर्फ नेपाली महिला क्रिकेट टोलीले शानदार जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ । शुक्रबार मलेसियाको बंगीमा सम्पन्न खेलमा नेपालले कतारमाथि ७९ रनको सहज जित निकाल्दै प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको हो ।

टस जित्दै पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ११७ रनको योगफल तयार पारेको थियो । नेपालका लागि आश्मा पुलामी र श्रृष्टी जैसीले क्रमशः ३२ र २३ रनको नटआउट पारी खेले । त्यस्तै सानु राजवंशीले पनि २१ रनको योगदान दिईन् ।

उता जवाफी लक्ष्य पछ्याएको कतार भने १५.४ ओभर खेल्दै ३८ रनमा अलआउट भएको थियो । कतारका लागि ओपनर तथा कप्तान सची ढडवाल र अर्की ओपनर श्र्तीवेन राणाले समान १४–१४ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका लागि श्रृष्टी जेसीले सर्वाधिक ३ किवटे लिईन् । त्यस्तै स्नेहा महरा, कृतिका मरासिनी र अनु कडायतले समान २–२ विकेट हात पारे । खेलमा अलराउण्ड प्रदर्शन गरेकी नेपालकी श्रृष्टी जैसी प्लेयर अफ द म्याच समेत घोषित भईन् ।

नेपालले आफ्नो आगामी खेल बलियो आँकिएको युएईसँग शनिबार खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...