दोस्रो खेलमा पनि युगाण्डासँग हार्यो नेपाल

काठमाडौं (खेलदैनिक) । नेपाली महिला क्रिकेट टोलीले जारी अन्तर्राष्ट्रिय टि–२० सिरिज अन्तरगत युगाण्डासँग दोस्रो खेलमा पनि हार बेहोरेको छ । सोमबार मात्र पहिलो खेलमा १२ रनले पराजित हुन पुगेको नेपाली महिला क्रिकेट टोलीले मंगलबार दोस्रो खेलमा १ विकेटको पराजय बेहोरेको हो ।

टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०१ रनको सामान्य योगफल तयार पारेको थियो । नेपालका लागि ओपनर बिन्दु रावलले सर्वाधिक २६ रन बनाईन् । त्यस्तै मध्यक्रममा ब्याटिङ गर्न आएकी सरिता मगरले पनि २२ रनको महत्वपूर्ण योगदान दिईन् ।

जवाफी लक्ष्य पछ्याएको युगाण्डाले १९.५ ओभरमा ९ विकेट गुमाएर १०२ रन बनाउँदै रोमाञ्चक जित निकालेको थियो । युगाण्डाका लागि नायक बनेकी प्लेयर अफ द म्याच रिता मुसामालीले सर्वाधिक ३० रन बनाउँदै जितको आधार तयारी परेकी थिईन् । त्यस्तै फ्रेंकलिन नजुम्बाले १९ रनको पारी खेलिन् ।

बलिङतर्फ नेपालका लागि कविता कुँवर र सबनम राईले २–२ विकेट लिए । त्यस्तै सीता राना मगर र रुबिना क्षेत्रीले १–१ विकेट हात पारिन् । यो हारसँगै नेपाल पाँच म्याचको सिरिजमा २–० ले पछि परेको छ । सिरिज अन्तरगतको तेस्रो खेल बिहीबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...