उत्कृष्ट जितका साथ नेपाललाई सिरिज

काठमाडौं (खेलदैनिक) । जिम्बाब्वे विरुद्धको एकदिवसीयमा नेपालले शानदार जित निकाल्दै सिरिजमाथि कब्जा जमाएको छ । सोमबार भएको अन्तिम एकदिवसीयमा जिम्बाब्वे ए लाई ६ विकेटले हराउँदै नेपालले सिरिज २–१ ले जितेको हो ।

पटक–पटक वर्षा बाधक बनेपछि खेल ३३ ओभरमा छोट्याइएको थियो । टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले जिम्बाब्वे ए लाई ३२.१ ओभरमा २१३ रन मात्र बनाउन दियो ।

जिम्बाब्वे ए का लागि ओपनर टाडीवानाशे मारुमनीले सर्वाधिक ५० रन बनाए । त्यस्तै कुट्जाई मौन्जीले ३९ रन बनाउँदा रोय काईले ३६ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका लागि किशोर महतोले सर्वाधिक ५ विकेट लिए । त्यस्तै सोमपाल कामीले २ विकेट लिंदा दिपेन्द्र सिंह ऐरी र करन केसीले १–१ विकेट लिए । कप्तान सन्दिप लामिछाने भने खर्चालु देखिए । उनले ६ ओभरमा कुनै विकट नलिई ५६ रन खर्चिए ।

त्यस्तै जवाफी लक्ष्य पछ्याएको नेपालले ३०.१ ओभरमा ४ विकेट गुमाएर २१४ रन बनाउँदै उत्कृष्ट जित निकाल्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले आक्रमक सर्वाधिक ८४ रनको पारी खेले । त्यस्तै दिपेन्द्र सिंह ऐरीले पनि नटआउट ६० रन बनाए । बिनोद भण्डारीले पनि नटआउट २८ रन बनाउँदै अर्का ओपनर आशिफ शेखले २९ रनको योगदान दिए ।

खेलको प्लेयर अफ द म्याच नेपालका लागि ५ विकेट लिएका किशोर महतो बने । त्यस्तै सिरिज भरि उत्कृष्ट प्रदर्शन गरेका नेपाल कै करन केसी प्लेयर अफ द सिरिज चुनिए ।


प्रतिक्रिया दिनुहोस

Loading...