जिम्बाब्वे ए सँग नेपाल पहिलो खेलमै निराश

काठमाडौं (खेलदैनिक) । उत्कृष्ट ब्याटिङ गर्नुका बावजुद नेपालले जिम्बाब्वेको ए टिमसँग पहिलो टि–२० म्याचमा ६ विकेटको हार बेहोरेको छ ।

किर्तिपुर क्रिकेट मैदानमा टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको थियो । नेपालका लागि मोहम्मद आदिल आलमले सर्वाधिक ४७ रनको नटआउट पारी खेले । त्यस्तै ओपनर कुशल भुर्तेलले ४६ रन बनाउँदा रोहित पौडेलले ३६ रनको योगदान दिए ।

उता जवाफी लक्ष्य पछ्याएको जिम्बाब्वे ए ले १८.५ ओभरमा ४ विकेट गुमाएर १८२ रन बनाउँदै सहज जित हात पारेको थियो । पाहुना टोलीका लागि माथिका दुई तीन ब्याट्सम्यानले उत्कृष्ट पारी खेले । ओपनर इनोसेन्ट काईले ४७ रन बनाए भने अर्का ओपनर टाडीवानाशे मारुमनीले ५६ रनको अर्धशतकीय पारी खेले ।

त्यस्तै तेस्रो नम्बरमा आएका टोनी मुनयोंगाले पनि ५० रन बनाउँदै अर्धशतक पूरा गरे । साथै उनी खेलको प्लेयर अफ द म्याच समेत घोषित भए ।

बलिङतर्फ नेपालका लागि बसिर अहमदले २ विकेट लिंदा सन्दिप लामिछाने र करन केसीले १–१ विकेट हात पारे । सिरिज अन्तरगत दोस्रो टि–२० म्याच सोमबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...