अपराजित नेपाल बन्यो च्याम्पियन

काठमाडौं (खेलदैनिक) । मलेसिया र पपुवा न्युगिनी सम्मिलित अन्तर्राष्ट्रिय टि–२० ट्राई सिरिजको उपाधि आयोजक नेपालले अपराजित रहेर जितेको छ । सोमबार सम्पन्न फाइनलमा पपुवा न्युगिनीमाथि ५० रनको जित निकालेसँगै नेपालले खेलेको पाँच मध्ये पाँचै खेलमा जित हात पार्दै विजेता बनेको हो ।

फाइनल खेलमा नेपालका नायक भने दिपेन्द्र सिंह ऐरी रहे । अलराउण्ड प्रदेश गरेका दिपेन्द्रले नटआउट ५४ रन बनाउनुका साथै १८ रन खर्चेर महत्वपूर्ण चार विकेट समेत लिएका थिए । त्रिवि क्रिकेट मैदानमा टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रनको योगफल तयार पारेको थियो ।

नेपालको पारीमा दिपेन्द्र बाहेक करन केसीले पनि नाबाद ३३ रन बनाए । त्यस्तै ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले क्रमशः २५ र २९ रन बटुले ।

जवाफी लक्ष्य पछ्याएको पपुवा न्युगिनीले भने १६.१ ओभर खेल्दै ११८ रनमै अलआउट भएको थियो । पाहुना टोलीका लागि सेसे बाउले सर्वाधिक ५९ रन बनाए । अन्य ब्याटसम्यानहरुले भने खासै गतिलो प्रदर्शन गर्न सकेनन् ।

यता विपक्षीको पारी धराशायी पार्ने क्रममा दिपेन्द्रले ४ विकेट लिंदा करन केसीले तीन तथा कप्तान सन्दिप लामिछानेले २ विकेट लिए । अलराउण्ड प्रदर्शन गरेका दिपेन्द्र सिंह ऐरी प्लेयर अफ द म्याचसँगै प्लेयर अफ द सिरिज समेत चुनिए ।


प्रतिक्रिया दिनुहोस

Loading...