पहिलो एकदिवसीयमा स्तब्ध बन्यो नेपाल

काठमाडौं (खेलदैनिक) । शुक्रबार भएको पपुवा न्युगिनी विरुद्धको पहिलो एकदिवसीय म्याचमा नेपाल ६ रनको साँघुरो अन्तरले स्तब्ध बनेको छ । टियु क्रिकेट मैदानमा टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले पपुवा न्युगिनी विरुद्ध कसिलो बलिङ गर्न सकेन ।

पाहुना टोलीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २९२ रनको सम्मानजनक योगफल तयार पारेको थियो । पपुवा न्युगिनीका लागि चाल्र्स अमिनीले ७७ रन बनाउँदा कप्तान असद भालाले ६० रनको योगदान दिए । ओपनर टोनी उराले पनि ३८ रनको महत्वपूर्ण पारी खेले ।

बलिङतर्फ नेपालका लागि कमल ऐरी, सोमपाल कार्मी र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए । त्यस्तै सन्दिप लामिछाने र पवन सर्राफले पनि १–१ विकेट आफ्नो खातामा पारे ।

जवाफी लक्ष्य पछ्याएको नेपालले भने निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८६ रन मात्र बनाउन सक्यो । मध्यक्रमका ब्याट्सम्यान रोहित कुमार पौडेलले १२६ रनको शतकीय पारी खेले पनि घरेलु टोलीलाई हारबाट जोगाउन सकेनन् । आरिफ शेखले ३४ तथा ओपनर कुशल भुर्तेलले ३२ रन बनाउनु बाहेक नेपाली ब्याटस्म्यानहरु खासै टिकेर खेल्न सकेनन् ।

नेपाल र पपुवा न्युगिनी बिचको दोस्रो एकदिवसीय म्याच शनिबार नै टियु क्रिकेट मैदानमा हुनेछ । त्यसलगतै नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित अन्तर्राष्ट्रिय टि–२० सिरिज सोमबारदेखि शुरु हुने कार्यक्रम पनि छ ।


प्रतिक्रिया दिनुहोस

Loading...