ब्याटिङ नचल्दा युएईसँग नेपाल निराश

काठमाडौं (खेलदैनिक) । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तरगत युएईमा जारी एकदिवसीय ट्राई सिरिजतर्फ कमजोर ब्याटिङ गर्दा नेपाल आयोजक युएईसँग ४८ रनले पराजित हुन पुगेको छ ।

आफ्नो पहिलो खेलमा पपुवा न्युगिनी विरुद्ध संघर्षपुर्ण २ विकेटको जित निकालेको नेपालले शुक्रबार भने निराशाजनक प्रदर्शन गर्यो । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हार्दै पहिले फिल्डिङको निम्तो पाएको नेपालले कसिलो बलिङ गर्दै घरेलु टोलीलाई ४६.३ ओभरमा १६८ रनमै अलआउट गरेको थियो ।

युएईका लागि चुन्दनगापोइल रिजवान र रोहन मुस्तफाले समान ४०–४० रनको योगदान दिए । ओपनर मोहम्मद वासिमले पनि २१ रन बनाए । बलिङतर्फ नेपालका लागि सोमपाल कार्मीले सर्वाधिक ४ विकेट लिंदा करन केसीले ३ विकेट आफ्नो नाममा लेखाए । त्यस्तै सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी र सागर ढकालले १–१ विकेट लिए ।

जवाफी लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभर खेल्दै १२० रनमा अलआउट भयो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । ज्ञानेन्द्र मल्लले २८ रनको योगदान दिए । नेपालका आठ ब्यासटम्यानले दोहोरो अंक समेत छुन सकेनन् ।

खेलमा युएईका रोहन मुस्तफा म्यान अफ द म्याच घोषित भए । नेपालले आफ्नो तेस्रो खेल सोमबार फेरि युएईसँग खेल्नेछ । उता युएईले भने शनिबार नै पपुवा न्युगिनीसँग खेल्ने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस

Loading...