मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट हुने

काठमाडौं (खेलदैनिक) । द हिमालयन क्लबले अस्ट्रेलियाको मेलबर्नमा शनिबार १९ मार्चदेखि आइतबार २७ मार्चसम्म दुई सप्ताहान्त कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल २०२२ को दोस्रो संस्करण आयोजना गर्ने भएको छ । द हिमालयन क्लबको होम ग्राउन्ड टीडब्ल्यू ब्लेक पार्कमा हुने क्रिकेटमा ८ टोलीको सहभागितामा रहने छ ।

द हिमालयन क्लब, एक्सपर्ट सागरमाथा ब्लुज, रोयल राइनोस क्रिकेट क्लब, मेभन क्रिकेट क्लब, फार वेश्टर्न हन्टर्स, गोर्खाली क्रिकेट क्लब, एभरेस्ट लायोन्स, गल्मी टाइगर्स गरेर आठ टिमहरुको सहभागीता रहने यो बर्षको द हन्ड्रेड प्रतियोगिता चार दिन शनिबार १९ मार्च, आइतबार २० मार्च, शनिबार २६ मार्च र आइतबार २७ मार्च सम्म चल्ने छ ।

द हिमालयन क्रिकेट क्लबले काल्ड समुदायका सदस्यहरूबीच कोभिड–१९ महामारीपछि अर्थपूर्ण सामाजिक सम्बन्धलाई सुनिश्चित गर्नका लागि यस्तो खालको सामाजिक प्रतियोगिता आयोजना गर्दै आएको छ ।

यस प्रतियोगितालाई क्रिकेट भिक्टोरिया, हार्मनी इन क्रिकेट एसोसिएसन र अन्य नेपाली सामुदायिक क्रिकेट क्लब तथा संघसंस्थाहरुको सहयोग रहेको छ ।

आइतबार २७ मार्चमा हुने ग्रान्ड फिनाले अघि बच्चाको क्रिकेट क्लिनिक सञ्चालन गरेर यसलाई पारिवारिक कार्यक्रम बनाउने लक्ष्य राखेको आयोजक क्लबका अध्यक्ष केशव सापकोटाले जानकारी दिए ।

प्रतियोगिताको विजेताले तिन हजार डलर र दोश्रो हुनेलाई एक हजार डलर नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने छ । अघिल्लो पटक विजेताले दुई हजार डलर पाएकोमा यो वर्ष पुरस्कार राशी वृद्धि गरिएको हो ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट फिल्डर, सर्वोत्कृष्ट ब्याटर, प्लेयर अफ द म्याच फाइनल, प्रत्येक राउन्ड रोबिन र सेमिफाइनल खेलको प्लेयर अफ द म्याचको लागि ट्रफी र प्रमाणपत्र राखिएको छ ।

सन् २००९ मा क्रिकेट खेल्ने केही साथीहरूको समूह मिलेर खोलीएको हिमालयन क्लब सन् २०११ मा भिक्टोरियामा नेपाली समुदायमा दर्ता गर्ने पहिलो सामुदायिक खेलकुद क्लबको रूपमा परिचित छ ।


प्रतिक्रिया दिनुहोस

Loading...