दोस्रोपटक विश्वकप खेल्ने नेपालको सपना समाप्त

काठमाडौं (खेलदैनिक) । निर्णायक मानिएको खेलमा चुकेपछि नेपालको दोस्रोपटक आइसीसी टि–२० क्रिकेट विश्वकप खेल्ने समाप्त भएको छ । मंगलबार विश्वकप छनौट हुन जित्नै पर्ने सेमिफाइनल भिडन्तमा युएईसँग ६८ रनले पराजित भएपछि नेपालको सपना तुहिएको हो ।

मंगलबार तुलनात्मक रुपमा नेपालको प्रदर्शन निकै फितलो रह्यो । टस हार्दै पहिले फिल्डिङको निम्तो पाएको नेपालले शुरुवातबाटै रन खर्चियो । युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रनको योगफल तयार पार्यो । युएईका लागि मुहम्मद वासिमले ७० रन बनाए ।

जवाफी लक्ष्य पछ्याएको नेपाल भने १८.४ ओभर खेल्दै १०७ रनमै अलआउट हुन पुग्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले मात्र सर्वाधिक ३८ रन बटुले । युएईका लागि अहमद रजाले १९ रन खर्चेर ५ विकेट लिएपछि नेपालको पारी धरापमा परेको थियो ।

फाइनल पुगेसँगै यसै बर्ष अष्ट्रेलियामा हुने आइसीसी टि–२० क्रिकेट विश्वकपका लागि युएईसँगै आयरल्याण्ड पनि छनौट भएको छ । आयरल्याण्डले मंगलबार नै भएको अर्को सेमिफाइनलमा आयोजक ओमानलाई ५६ रनले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

अब बिहीबार फाइनलमा युएई र आयरल्याण्ड भिड्ने छन् । त्यस्तै सोही दिन तेस्रो स्थानका लागि नेपाल र ओमान आमने सामने हुनेछन् । समूह चरणतर्फ पनि एकै समूहमा परेको नेपाल र ओमानबीचको खेलमा नेपाल ३९ रनले विजयी भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...