शानदार जितका साथ नेपाल सेमिफाइनलमा

काठमाडौं (खेलदैनिक) । शानदार जित हात पार्दै नेपाल जारी आइसीसी टि–२० क्रिकेट विश्वकपको ग्लोबल छनौटतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । ओमानमा जारी छनौट प्रतियोगितातर्फ समूह बी मा रहेको नेपालले समूह चरणको अन्तिम खेलमा क्यानडालाई ८ विकेटले हराउँदै समूह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।

टस हार्दै पहिले फिल्डिङको निम्तो पाएको नेपालले क्यानडालाई १५ ओभरमा ८० रन मै अलआउट गरेको थियो । क्यानडाका लागि डिल्लन हिलाईजरले सर्वाधिक २४ रनको नटआउट पारी खेले । बलिङतर्फ नेपालका लागि प्लेयर अफ द म्याच समेत घोषित कप्तान सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट लिए । कमल सिंह ऐरी र अविनाश बोहराले समान २–२ हात पारे । त्यस्तै कुशल मल्लले एक विकेट आफ्नो नाममा लेखाए ।

जवाफी लक्ष्य प्छयाएको नेपालले १४.१ ओभरमा २ विकेट गुमाएर ८१ रन बनाउँदै जित हात पार्यो । नेपालका लागि सलामी जोडी कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीले क्रमशः नटआउट ३४ र २७ रन बनाए । त्यस्तै अर्का ओपनर आशिफ शेखले पनि १७ रनको पारी खेले ।

समूह विजेता बनेको नेपालले मंगलबार सेमिफाइनलतर्फ समूह बी को उपविजेता युएईसँग खेल्नेछ । स्मरण रहोस, समूह बी तर्फको अन्तिम खेलमा युएईले सोमबार बहराईनसँग रनको हार बेहोरेको थियो । त्यस्तै मंगलबार नै समूह ए को उपविजेता आयोजक ओमानले समूह बी को विजेता आयरल्याण्डसँग अर्को सेमिफाइनल खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...