कुशलको मेडन शतक नेपालको त्यो शानदार जित

काठमाडौं (खेलदैनिक) । ओमानमा जारी आइसीसी टि–२० विश्वकपको ग्लोबल छनौटतर्फ समूह ए मा रहेको नेपालले शनिबार लगातार दोस्रो जित हात पार्ने क्रममा फिलिपिन्सलाई १३९ रनको फराकिलो अन्तरले हरायो ।

टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको नेपालले सुस्त शुरुवात गरे तापनि निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१८ रनको फराकिलो योगफल तयार पार्यो ।

नेपालका लागि प्लेयर अफ द म्याच समेत घोषित कुशल भुर्तेलले ६१ बलमा १०४ रनको नटआउट पारी खेले । त्यो उनको मेडन शतक समेत थियो । साथै अन्तर्राष्ट्रिय टि–२० क्रिकेटमा शतक बनाउने उनी तेस्रो खेलाडी समेत बने ।

नेपालका लागि अर्का भरपर्दा ब्याटसम्यान दिपेन्द्र सिंह ऐरीले पनि ८३ रनको उत्कृष्ट पारी खेले । त्यस्तै लोकेश बम ६ रनमा नटआउट रहे ।

उता जवाफी लक्ष्य पछ्याएको फिलिपिन्सले भने निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो । फिलिपिन्सका लागि जोर्डन अलेग्राले सर्वाधिक २७ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका लागि कप्तान सन्दिप लामिछानेले ३ विकेट लिए भने गुलशन झा, जितेन्द्र मुखिया, अविनाश बोहरा, कुशल मल्ला, दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।

यो जितपछि समूह ए मा २ खेलबाट ४ अंक जोडेको नेपाल शिर्ष स्थानमा छ । र सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना पनि बलियो बनाएको छ । त्यस्तै शनिबार नै ओमानले क्यानडालाई ९ विकेटले हरायो । क्यानडा र ओमान दुवैको २–२ अंक छ । र सेमिफाइनल प्रवेशको सम्भावना कायम छ । अंकविहीन फिलिपिन्स पुछारमा छ र प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपालले समूह चरणको अन्तिम खेल सोमबार क्यानडासँग खेल्नेछ भने सोही दिन फिलिपिन्स र ओमान पनि आमने सामने हुनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...