
काठमाडौं (खेलदैनिक) । फितलो ब्याटिङ गरे पनि बलिङमा नेपाली खेलाडीहरु चम्किदा नेपालले आइसीसी टि–२० क्रिकेट विश्वकपको ग्लोबल छनौटमा उत्कृष्ट शुरुवात गरेको छ ।
अल अमिरात क्रिकेट स्टेडियममा भएको समूह ए तर्फको पहिलो खेलमा नेपालले आयोजक ओमान माथि ३९ रनको उत्कृष्ट जित निकालेको हो ।
टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको नेपालले गतिलो प्रदर्शन गर्न सकेन । निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रनको योगफल मात्र तयार पार्न सक्यो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन बनाए । त्यसबाहेक लोकेश बलमे १६ रन बनाए भने कप्तान सन्दिप लामिछाने पनि १६ रनमा नटआउट रहे ।
उता जवाफी लक्ष्य पछ्याएको ओमान भने १७ ओभरमा ७८ रन बनाएर अलआउट हुन पुग्यो । ओमानका लागि नसिम खुशीले मात्र सर्वाधिक २४ रनको योगदान दिए ।
बलिङतर्फ कमल सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए भने सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए । त्यस्तै जितेन्द्र मुखिया र अविनश बोहराले १–१ विकेट आफ्नो नाममा लेखाए ।
नेपालले आफ्नो दोस्रो खेल फिलिपिन्ससँग खेल्नेछ भने सोही दिन ओमानले क्यानडासँग खेल्नेछ । स्मरण रहोस, समूह ए तर्फ कै अर्को खेलमा क्यानडाले फिलिपिन्सलाई ११८ रनको फराकिलो अन्तरले हराएको छ ।