आयरल्याण्डसँग दुर्भाग्यपुर्ण रुपमा बल्झिएको हार

काठमाडौं (खेलदैनिक) । आइसीसी टि–२० क्रिकेट विश्वकप छनौट खेल्ने तयारीमा रहेको नेपालले ओमानमा भएको चारदेशीय अन्तर्राष्ट्रिय टि–२० सिरिजमा इतिहास बनाउनबाट दुर्भाग्यपुर्ण रुपमा चुकेको छ ।

सिरिज अन्तरगतको अन्तिम खेलमा सोमबार नेपालले टेष्ट राष्ट्र आयरल्याण्डसँग १६ रनले पराजित हुन पुग्यो । टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले आयरल्याण्डलाई १२७ रन मात्र बनाउन दिएको थियो ।

तर सहज लक्ष्य पछ्याएको नेपालको परम्परागत ब्याटिङ लाईन फेरि बाधक बन्यो । नेपालले २० ओभरमा ९ विकेट गुमाएर १११ रन मात्र बनाउन सक्यो । खेलमा अलराउण्ड प्रदर्शन गरेका नेपालका दिपेन्द्र सिंह ऐरी म्यान अफ द म्याच पनि चुनिए । सिरिजभरि उनले सर्वाधिक १४२ रन समेत बनाए ।

नेपालले आफ्नो पहिलो खेलमा आयोजक ओमानलाई हराउनु नै एउटा उपलब्धी बन्यो । दुई खेलमा २ जित निकालेको युएई नेट रनरेटका आधारमा शिर्ष स्थानमा रहेर विजेता बन्यो । समान अंक भए तापनि आयरल्याण्ड दोस्रो स्थानमा रह्यो । ओमान तेस्रो स्थानमा रहँदा नेपाल भने पुछारमा रहन बाध्य बन्यो ।

शुक्रबारदेखि ग्लोबल छनौट

ओमान मै हुन गईरहेको आइसीसी टि–२० ग्लोबल क्वालिफायरतर्फ समूह ए को खेलहरु यहि आउँदो शुक्रबारदेखि शुरु हुँदैछन् । समूह ए मा रहेका कुल ८ टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तरगत समूह ए मा बहराईन, जर्मन, आयरल्याण्ड र युएई रहेका छन् भने समूह बी मा नेपाल, फिलिपिन्स, ओमान र क्यानडा रहेका छन् ।

प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । त्यस्तै फाइनलमा पुग्ने दुई टोली अष्ट्रेलियामा हुने आइसीसी टि–२० क्रिकेट विश्वकपका लागि छनौट हुनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...