ओमानमाथि नेपालको रोमाञ्चक जित

काठमाडौं (खेलदैनिक) । दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट पारी खेलेपछि नेपालले शुक्रबारदेखि शुरु चारदेशिय अन्तर्राष्ट्रिय टि–२० सिरिजमा घरेलु टोली ओमानमाथि ६ विकेटको रोमाञ्चक जित हात पारेको छ ।

मस्कट स्थित ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले घरेलु टोली ओमानलाई निर्धारित २० ओभरमा १३५ रन मात्र बनाउन दियो । ओमानका लागि कप्तान जिशन मकसुदले सर्वाधिक ४३ रनको नटआउट पारी खेले । त्यसबाहेक मोहम्मद नदिमले पनि ३१ रन बनाए ।

नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । त्यस्तै कमल ऐरी, आरिफ शेख र कप्तान सन्दिप लामिछानेले एक–एक विकेट आफ्नो नाममा लेखाए ।

उता जवाफी लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर १३७ रन बनाउँदै रोमाञ्चक जित निकाल्यो । नेपालका लागि नायक बनेका दिपेन्द्र सिंह ऐरीले नटआउट ७३ रन बनाए । उनी प्लेयर अफ द म्याच समेत चुनिए । त्यस्तै आरिफ शेखले पनि २५ रनको अहम पारी खेले ।

नेपालले सिरिज अन्तरगत शनिबार दोस्रो खेलमा युएईको सामना गर्नेछ । चार देश सम्मिलित सिरिजमा नेपाल, ओमान, यूएईसँगै टेष्ट राष्ट्र आयरल्याण्ड पनि सामेल छ ।


प्रतिक्रिया दिनुहोस

Loading...