गोल्डेन गेट र केएनके क्वाटरफाइनलमा

स्पोन्सर युनिभर्सिटी कप क्रिकेट प्रतियोगिताको आजको खेलमा गोल्डेन गेट र केएनके बिजयी हुँदै क्वाटरफाइनलमा प्रबेश गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो खेलमा गोल्डेन गेटले काठमाडौं विश्वविद्यालयलाई १० विकेटले पराजित गरेको छ र दोस्रो खेलमा केएनकेले राजश्रीलाई ६ विकेटले पराजित गर्न सफल भयो।

पहिलो खेलमा टस जितेर पहिले बलिङ गरेको गोल्डेन गेटले काठमाडौं विश्वविद्यालयलाई कम स्कोरमा समेट्न सफल भयो ।  काठमाडौं विश्वविद्यालयले १४ ओभर ६ बलमा आफ्ना सम्पूर्ण विकेट गुमाएर मात्र ४४ रन बनाउन सफल भयो । काठमाडौं विश्वविद्यालयकालागि अनोज बस्नेतले सर्वाधिक ९ रन बनाए ।

जवाफमा ब्याटिङ गरेको गोल्डेन गेटले कुनै क्षती बिना ४८ रन बनायो । गोल्डेन गेटकालागि इन्द्रकमल  मानन्धरले ८ बलमा बिस्फोटक २३ रन बनाउन सफल भए । गोल्डेन गेटका सुमन उदयले ४ विकेट लिन सफल भए । सुमन उदय म्यान अफ दि म्याच घोषित भए।

दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको राजश्रीले १९ ओभर २ बलमा आफ्ना सम्पूर्ण विकेट गुमाएर मात्र १२६ रन बनायो ।उसकालागि सुदिप मणी नेपालले सर्वाधिक २९ रन बनाए ।

केएनकेले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर १२७ रन ल्याउदै निर्धारित लक्ष्य पुरा गर्‍यो । केएनकेकालागि राम भट्टराईले ४२ रन, एल्ड्रिन शिबाले अबिजित २८ रन र उत्तम खडयाकले १ रन बनाए । राम भट्टराईले ३ विकेट लिन सफल भए । राम भट्टराई म्यान अफ दि म्याच घोषित भए।

शनिबार  पहिलो क्वाटरफाइनल खेलमा त्रिभुवन विश्वविद्यालय र निस्ट र दोस्रो क्वाटरफाइनलमा ग्लोबल कलेज र शंकरदेव क्याम्पसबीच हुनेछ ।

युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा भएको टि–२० क्रिकेट प्रतियोगितालाई स्पोन्सर स्पोर्टस ड्रिन्कले प्रायोजन गरेको छ ।

चैत २९ गतेसम्म सन्चालन हुने यस प्रतियोगितामा उपत्यकाका १६ कलेज टिमहरु सहभागि छन् ।

विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...