नेपालको विश्व छनौट खेल्ने सपना समाप्त

काठमाडौं । निर्णायक मानिएको खेलमा निराश बनेपछि नेपालको आइसीसी टि–२० महिला विश्वकपको ग्लोबल छनौट र विश्वकप खेल्ने सपना समाप्त भएको छ ।

आइतबार लिग चरणको आफ्नो अन्तिम तथा निर्णायक खेलमा नेपालले आयोजक युएईसँगै ४८ रनको हार बेहोर्न पुग्यो । दुबई स्थित आइसीसी एकेडेमी ग्राउण्डमा टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले युएईलाई खुलेर खेल्न दियो । जसको फलस्वरुप घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२७ रनको योगफल तयार पारेको थियो ।

युएईका लागि प्लेयर अफ द म्याच समेत घोषित चनमी सेनेविरत्नेले सर्वाधिक ५२ रन बनाउँदै घरेलु टोलीलाई बलियो स्थितिमा ल्याएकी थिईन् । ओपनर थिर्था सतिशले पनि ४७ रनको महत्वपूर्ण पारी खेलिन् ।

उता जवाफी लक्ष्य पछ्याएको नेपाल १९.४ ओभरमा ७९ रन बनाएर अलआउट हुन पुग्यो । नेपालका लागि ओपनर इन्दु वर्माले १५ रन बनाउँदा सीता राना मगरले १३ रन जोडिन् । अन्य नेपाली खेलाडीहरुले दोहोरो अंक समेत छुन सकेनन् ।

यो नतिजासँगै ५ खेलबाट १० अंक जोडेको युएई शतप्रतिशत जितका साथ ग्लोबल क्वालिफायरका लागि छनौट भएको छ । ६ अंक जोडेको नेपाल भने दोस्रो स्थानमा रहेर निराश बन्दै छनौट प्रतियोगिताबाट बाहिरियो ।


प्रतिक्रिया दिनुहोस

Loading...