नेपालको लगातार तेस्रो जित

काठमाडौं (खेलदैनिक) । आइसीसी टि–२० क्रिकेट विश्वकपको एसियाली छनौटतर्फ नेपालले शुक्रबार लगातार तेस्रो जित हात पारेको छ । दुबई स्थित आइसीसी एकेडेमी ग्राउण्डमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हरायो र ग्लोबल क्वालिफायरमा छनौट हुने सम्भावना बलियो बनायो ।

टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले मलेसियालाई निर्धारित २० ओभरमा ९२ रन मात्र बनाउन दियो । मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक नटआउट ३९ रनको योगदान दिईन् ।

बलिङतर्फ नेपालका लागि सबनम राईले सर्वाधिक २ विकेट लिईन भने रुबिना क्षेत्री, कबिता कुँवर र सीता राना मगरले समान १–१ विकेट आ–आफ्नो खातामा पारे ।

त्यस्तै जवाफी लक्ष्य पछ्याएको नेपालले १८.२ ओभरमा ४ विकेट गुमाएर ९३ रन बनाउँदै जित हात पारेको थियो । नेपालका लागि प्लेयर अफ द म्याच समेत घोषित सीता राना मगरले सर्वाधिक ३० रन बनाईन् । त्यस्तै कप्तान रुबिना क्षेत्रीले २० रनको योगदान दिईन् ।

यो जितसँगै ४ खेलबाट ६ अंक जोडेको नेपाल शिर्ष स्थानमा छ । त्यस्तै एक खेल कम खेलेको आयोज युएई ६ अंकका साथ दोस्रो स्थानमा छ । नेपालसँग पराजित मलेसिया भने २ अंकका साथ चौथो स्थानमा छन् । नेपालले लिग चरणको अन्तिम खेलमा आइतबार बलियो युएईको सामना गर्नेछ । सो खेलमा नेपाललाई निश्चित जितको खाँचो पर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...