विश्वकपमा छनौट हुने नेपालको सम्भावना कायमै

काठमाडौं (खेलदैनिक) । पहिलो खेलमा हङकङसँग हारेर निराश बनेको नेपाली महिला क्रिकेट टोलीले बिहीबार लगातार दोस्रो जित दर्ता गर्दै आइसीसी टि–२० महिला विश्वकपको एसिया छनौटतर्फ आफ्नो सम्भावना कायम राखेको छ ।

बिहीबार भएको तेस्रो खेलमा नेपालले कुवेतलाई ९ विकेटको फराकिलो अन्तरले हरायो । दुबई स्थित आइसीसी एकेडेमी ग्राउण्डमा टस हार्दै पहिले फिल्डिङको निम्तो पाएको नेपालले कुवेतलाई १५.४ ओभरमा २७ रन मै अलआउट गरेको थियो ।

कुवेतका लागि प्रियदा मुरलीले मात्र सर्वाधिक १० रन बनाईन । अन्य कुवेती खेलाडीहरुले भने दोहोरो अंक समेत छुन सकेनन् । बलिङतर्फ नेपालका लागि संगीता राईले सर्वाधिक ३ विकेट लिईन भने कप्तान रुबिना क्षेत्री र करुणा भण्डारीले २–२ विकेट लिए । त्यस्तै सरस्वती कुमारीले १ विकेट आफ्नो खातामा पारीन् ।

उता जवाफी लक्ष्य पछ्याएको नेपालले केवल ३.३ ओभरमा १ विकेट गुमाएर २८ रन बनाउँदै जित हात पारेको थियो । नेपालका लागि इन्दु वर्माले सर्वाधिक नटआउट १३ रन बनाईन् भने ओपनर तथा कप्तान रुबिना क्षेत्रीले १२ रनको योगदान दिईन् । खेलमा अलराउण्ड प्रदर्शन गरेकी रुबिना प्लेयर अफ द म्याच समेत घोषित भईन् ।

यो जितसँगै ३ खेलबाट ४ अंक जोडेको नेपाल राम्रो नेट रनरेटका आधारमा शिर्ष स्थानमा पुगेको छ । समान ४ अंकसहित एक खेल कम खेलेको आयोजक युएई दोस्रो स्थानमा छ । ४ अंक नै जोडेको हङकङ तेस्रो स्थानमा रहँदा समान २–२ अंक जोडेका मलेसिया र भुटान चौथो र पाँचौं स्थानमा छन् । अंकविहीन कुवेत भने पुछारमा छ ।

नेपालले आफ्नो चौथो खेल शुक्रबार मलेसियासँग खेल्नेछ । त्यस्तै समूह चरणको अन्तिम खेल आउँदो आइतबार बलियो तथा आयोजक टोली युएईसँग खेल्नेछ । नेपालका लागि यी दुवै खेल महत्वपुर्ण छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...