लगातार दोस्रो जितसँगै नेपाललाई सिरिज

काठमाडौं (खेलदैनिक) । लगातार दोस्रो उत्कृष्ट जित निकाल्दै कतार विरुद्धको अन्तर्राष्ट्रिय टि–२० सिरिजमाथि नेपाली महिला क्रिकेट टोलीले कब्जा जमाउन सफल भएको छ ।

बुधबार भएको दोस्रो अन्तर्राष्ट्रिय टि–म्याचमा नेपालले घरेलु टोलीलाई ६१ रनले हराउँदै सिरिज एक म्याच खेल्नु अघि नै २–० ले आफ्नो पोल्टामा पारेको हो । स्मरण रहोस, नेपालले मंगलबार मात्र भएको पहिलो अन्तर्राष्ट्रिय टि–२० म्याचमा ११९ रनको किर्तिमानी जित हात पारेको थियो ।

बुधबार दोहा स्थित वेस्ट एण्ड पार्क इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जित्दै पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो । नेपालका लागि कप्तान रुबीना क्षेत्रीले ५० रनको अर्धशतकीय पारी खेलिन् । त्यस्तै ओपनर कविता कुँवरले ३१ रन बनाउँदा अप्सरी बेगम २३ रनमा नटआउट रहीन् ।

जवाफी लक्ष्य पछ्याएको कतार भने १९.३ ओभरमा ६८ रन बनाएर अलआउट भएको थियो । कतारका लागि कप्तान आइशाले सर्वाधिक २४ रन बनाईन् भने केरी पाउनसेटले १५ रनको योगदान दिईन् । कतारका अन्य ब्याटसवुमन भने दोहोरो अंक समेत जोड्न नसकी आउट भए ।

नेपालका लागि सरस्वती कुमारीले सर्वाधिक ४ विकेट लिईन् । त्यस्तै रुबीना क्षेत्रीले २ विकेट हात पार्दा कबिता जोशी, संगीता राई र शबनम राईले समान १–१ विकेट हात पारे । खेलमा अलराउण्ड प्रदर्शन गरेकी नेपाली टोलीकी कप्तान रुबीना क्षेत्री प्लेयर अफ द म्याच घोषित भईन् ।

सिरिज अन्तरगतको तेस्रो तथा अन्तिम अन्तर्राष्ट्रिय टि–२० म्याच बिहीबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...