सन्दिपले पाए आइसीसीको प्रतिष्ठित अवार्ड

काठमाडौं (खेलदैनिक) । नेपालका स्टार लेग स्पिनर सन्दिप लामिछानेले सेप्टेम्बर महिनाका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आइसीसी) को प्लेयर अफ द मन्थ अवार्ड हात पारेका छन् ।

सन्दिपले सेप्टेम्बर महिना भरि गरेको प्रदर्शनका आधारमा उनलाई अवार्ड प्रदान गरिएको हो । यो अवार्ड हात पार्ने क्रममा सन्दिपले बंगलादेशका अर्थडक्स बलर नसुम अहमद र अमेरिकाका बिग हिटर जसकरन मलहोत्रालाई पछि पारे ।

सेप्टेम्बर महिनामा सन्दिपको प्रदर्शन प्रशंसनीय रह्यो । ओमान भएको आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तरगत कुल ६ एकदिवसीय म्याच खेलेको सन्दिपले ७.३८ को औसत र ३.१७ को इकोनामीमा कुल १८ विकेट हात पारेका थिए ।

त्यसमध्ये पपुवा न्युगिनी विरुद्ध खेलेको दुई अभ्यास म्याचमा उनले लिएको ४–३५ र ६–११ को आँकडा पनि सामेल छ । त्यस्तै उनले घरेलु टोली ओमान विरुद्ध १८ रन खर्चेर ४ विकेट लिएको क्षण पनि अविस्मरणीय रह्यो ।

त्यस्तै महिलातर्फको यो अवार्ड भने इङल्याण्ड क्रिकेट टोलीकी कप्तान हिदर नाईटले जितिन् । सेप्टेम्बरमा महिना उनले न्युजिल्याण्ड विरुद्ध खेलेको एकदिवसीय सिरिजमा कुल २१४ रन बनाएर ३ विकेट समेत हात पारेकी थिईन् ।


प्रतिक्रिया दिनुहोस

Loading...