ओमानसँग उसकै घरमा नेपालले लियो बदला

काठमाडौं (खेलदैनिक) । गत बर्षको फेब्रुअरीमा काठमाडौंमा सम्पन्न त्रिकोणात्मक सिरिजमा ओमान विरुद्ध दुवै खेल हारेको नेपालले आइतबार ओमानसँग त्यो हारको बदला लिएको थियो ।

आइसीसी विश्वकप लिग २ अन्तरगत ओमानमा जारी त्रिकोणात्मक सिरिजतर्फ आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई ७ विकेटले हराउँदै सो हारको बदला लिएको हो । स्मरण रहोस, जारी सिरिजमा नेपालले ओमानसँग पहिलो खेलमा ५ विकेटको हार बेहोरेको थियो ।

अल अमिरात क्रिकेट स्टेडियममा टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले ओमान विरुद्ध कसिलो बलिङ गरेपछि घरेलु टोलीले ३७.१ ओभर खेल्दै १२१ रनमै अलआउट भएको थियो । ओमानका लागि जिशन मकसुदले मात्र सर्वाधिक ४१ रन बनाए ।

बलिङतर्फ करन केसी र सन्दिप लामिछानेले ४–४ विकेट लिए । त्यस्तै शरद भेषवाकरको नाममा २ विकेट रह्यो ।

जवाफी लक्ष्य पछ्याएको नेपालले १८.२ ओभर खेल्दै ३ विकेट गुमाएर १२२ रन बनाउँदै सहज जित निकालेको थियो । नेपालका लागि लगातार दोस्रो अर्धशतक बनाउने क्रममा कप्तान ज्ञानेन्द्र मल्लले नटआउट ५२ रन बनाए । ओपनर आशिफ शेखले पनि ४० रनको महत्वपुर्ण पारी खेले ।

बलिङतर्फ ओमानका लागि नेस्टर धम्बाले २ विकेट लिए भने कलिमुल्लाहले १ विकेट हात पारे ।


प्रतिक्रिया दिनुहोस

Loading...