ओमानलाई उसकै घरमा हराउन चुकेको नेपाल

काठमाडौं (खेलदैनिक) । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तरगत गत बर्षको फेब्रुअरीमा नेपाल मै सम्पन्न ओमान र अमेरिका सम्मिलित क्रिकोणात्मक सिरिजतर्फ ओमान विरुद्ध नेपालले दुवै खेलमा हार बेहोरेको थियो ।

यद्यपि मंगलबार ओमान मै जारी सोही तीन देश सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपाललाई ओमानसँग उसकै घरमा त्यो हारको बदला लिने अवसर थियो । तर नेपाल चुक्न पुग्यो ।

मस्कट स्थित अल अमिरात क्रिकेट स्टेडियममा नेपालले ओमानसँग ५ विकेटले हार्न पुग्यो । सोमबार मात्र उद्घाटन खेलमा अमेरिकालाई ५ विकेटले हराएको नेपालले त्यो जितको निरन्तरतालाई ओमान विरुद्ध दोहोर्याउन सकेन ।

टस जित्दै पहिले ब्याटिङ रोजेको नेपालले खासै राम्रो गर्न सकेन । ४७.४ ओभर मात्र खेलेको नेपालले सबै विकेट गुमाएर १९६ रन मात्र बनाउन सक्यो । ओपनर आरिफ शेखले ९० रन बनाउनु बाहेक अन्य नेपाली ब्याटसम्यान जुधेर खेल्न सकेनन् ।

उता जवाफी लक्ष्य पछ्याएको ओमानले ३१.१ ओभरमा ५ विकेट गुमाएर २०० रन बनाउँदै जित निकाल्यो । ओमानका लागि जतिन्दर सिंहले १०७ रनको शतकीय पारी खेले । र जितको आधार तयार पारे । मोहम्मद नदिमले नटआउट ३८ रन बनाए ।

नेपालका लागि आशा गरिएका स्पीनर सन्दिप लामिछानेको स्वास्थ्यमा समस्या देखिएपछि उनले दोस्रो पारीमा बलिङ गर्न सकेनन र खेल्न पनि सकेनन् । यद्यपि उनको स्वास्थ्य समस्या सामान्य रहेको र अमेरिका विरुद्ध शुक्रबार हुने खेलमा उनी खेल्न सक्ने बताइएको छ ।

नेपालका लागि कुशल मल्ल र करन केसीको नाममा २ विकेट रह्यो भने सुशन भारीले एक विकेट लिए । ओमानसँग नेपालले आफ्नो दोस्रो खेल आउँदो आइतबार खेल्नेछ ।

(तस्विरः क्यान)


प्रतिक्रिया दिनुहोस

Loading...