नेपाललाई किर्तिमानी सफलता

काठमाडौं (खेलदैनिक) । नेपाली क्रिकेटको इतिहास मै पहिलोपटक दिवा–रात्री एकदिवसीय क्रिकेट म्याच खेलेको नेपालले शुक्रबार पपुवा न्गुगिनीमाथि १५१ रनको फराकिलो जित दर्ता हात पारेको छ ।

ओमानको मस्कट स्थित अल अमिरात क्रिकेट स्टेडियममा सम्पन्न दोस्रो एकदिवसीयमा नेपालले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै पपुवा न्गुगिनीमाथि फराकिलो जित हात पारेको हो । पपुवा न्युगिनी विरुद्ध नेपालको यो अहिलेसम्म कै ठूलो जित समेत हो ।

टस जित्दै पहिले ब्याटिङ रोजेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर २३३ रनको योगफल तयार पारेको थियो । नेपालका लागि करियर कै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा रोहित कुमार पौडेलले सर्वाधिक ८६ रनको पारी खेले । कप्तान ज्ञानेन्द्र मल्लले ४५ रन बनाउँदा तल्लो क्रमका करन केसीको नाममा पनि ४२ रन रह्यो ।

स्मरण रहोस, रोहित र कप्तान ज्ञानेन्द्रले ८९ रनको किर्तिमानी साझेदारी समेत गरेका थिए । एकदिवसीय क्रिकेटमा कुनै पनि विकेटका लागि गरिएको यो नेपालको सर्वाधिक ठूलो साझेदारी समेत थियो ।

बलिङमा पनि उत्कृष्ट नेपाल

जवाफी लक्ष्य पछ्याएको पपुवा न्युगिनी नेपाली बलिङ सामूह निरीह बन्दै १९.१ ओभरमा ८२ रन बनाएर अलआउट हुन पुग्यो । नेपालका लागि प्लेयर अफ द म्याच समेत घोषित सन्दिप लामिछाने एक्लैले ११ रन खर्चिएर ६ विकेट लिए । एकदिवसीय क्रिकेटमा सन्दिपको यो सर्वश्रेष्ठ प्रदर्शन थियो ।

त्यस्तै सुशन भारी, बिक्रम सोव र सोमपाल कामीले समान १–१ विकेट लिए । यो जितसँगै नेपालले पपुवा न्युगिनी विरुद्धको दुई म्याचको एकदिवसीय सिरिज २–० ले जित्न सफल भएको छ । नेपालले पहिलो एकदिवसीयमा पनि पपुवा न्युगिनीलाई २ विकेटले हराएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...