इतिहास रच्दै च्याम्पियन बनेको नेपाली क्रिकेट टिम

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय क्रिकेट टोलीले इतिहास रच्दै थ्री नेशन्स सिरिज अन्तर्राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । घरेलु मैदानमा नेपालले जितेको यो ऐतिहासिक पहिलो अन्तर्राष्ट्रिय टि–२० सिरिज पनि हो ।

शनिबार टियु क्रिकेट मैदानमा नेदरल्याण्डसलाई १४२ रनको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि जित्यो । डच टोली विरुद्ध अन्तर्राष्ट्रिय टि–२० क्रिकेटमा नेपालले हात पारेको यो सबैभन्दा ठूलो जित समेत थियो ।

टस हादै पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रनको फराकिलो योगफल तयार पारेको थियो । स्मरण रहोस, अन्तर्राष्ट्रिय टि–२० मा नेपालको यो सर्वाधिक उच्च योगफल समेत थियो ।

नेपालको पारीमा ओपनर कुशल भुर्तेलले सर्वाधिक ७७ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले पनि ३३ रनको योगदान दिए । कुशल मल्ल र दिपेन्द्र सिंह ऐरी भने क्रमशः ५० र ४८ रनमा नटआउट रहे ।

बलिङतर्फ नेदरल्याण्डसका लागि फिलिपे बोइसेभेनले २ विकेट लिए । त्यस्तै सेवास्टन ब्राटले १ विकेट आफ्नो खातामा पारे ।

नेदरल्याण्डसको पारी

जवाफी लक्ष्य पछ्याएको डच टोली भने १७.२ ओभर खेल्दै ९६ रनमा अलआउट हुन पुगेको थियो । नेदरल्याण्डसका लागि सेवास्टन ब्राटले नटआउट २६ रनको योगदान दिए भने ओपनर म्याक्स ओ’डाउडले २० रन बटुले । अन्य डच खेलाडीहरुले खासै गतिलो योगदान दिन सकेनन् ।

बलिङतर्फ पनि कसिलो देखिएको नेपालका लागि करन केसीले सर्वाधिक ३ विकेट लिए । त्यसैगरी सन्दिप लामिछाने र कमल ऐरीले २–२ विकेट लिंदा अविनाश बोहराले १ विकेट आफ्नो नाममा लेखाए ।

सिरिज भरि कुल २७८ रन बनाएका नेपालका आक्रमक ब्याटसम्यान कुशल भुर्तेलले म्यान अफ द सिरिजको पुरस्कार पनि जिते । कुशलले खेलेको कुल ४ खेलमध्ये चार खेलहरुमा उनले अर्धशतक बनाएका थिए ।

(तस्विरः क्यान)


प्रतिक्रिया दिनुहोस

Loading...