ट्राई सिरिजः शानदार जितका साथ नेपालको शिर्षता

काठमाडौं (खेलदैनिक) । ट्राई नेशन्स सिरिज अन्तर्राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा आयोजक नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा शानदार जित हात पारेको छ ।

मंगलबार नेदरल्याण्डससँग ३ विकेटले हार्न पुगेको नेपालले त्यो हारलाई बिर्सिदै बिहीबार मलेसियामाथि ६९ रनको जित हात पार्यो । साथै समग्रमा ४ खेलबाट ६ अंक जोड्दै शिर्ष स्थानको टोलीका रुपमा फाइनलमा पुग्यो । यद्यपि सिरिजको फाइनलमा बुधबार नै पुगिसकेको नेपालले उपाधिका लागि शनिबार नेदरल्याण्डससँग खेल्नेछ ।

बिहीबार टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१७ रनको फराकिलो योगफल तयार पारेको थियो । यद्यपि नेपालको शुरुवात भने राम्रो रहेन ।

यसअघिका खेलहरुमा शानदार प्रदर्शन गरेका ओपनर कुशल भुर्तेल १६ रनको व्यक्तिगत स्कोर मै आउट भए । अर्का ओपनर आशिफ शेखले भने ४२ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले पनि ४१ रनको योगदान दिए भने पुछारतिर ब्याटिङ गर्न आएका करन केसीले आक्रमक रुपमा १३ बलमा ४५ रन जोडे ।

बलिङतर्फ मलेसियाका लागि सयद अजिज, अनवर रहमान र फित्री शामले समान २–२ विकेट हात पारे । त्यस्तै मुहम्मद वाफिकले १ विकेट आफ्नो नाममा लेखाए ।

उता जवाफी लक्ष्य पछ्याएको मलेसिया भने १९.१ ओभरमा १४८ रन बनाएर अलआउट भएको थियो । मलेसियाका लागि अमिनुद्दिन रेमलीले सर्वाधिक ४१ रनको पारी खेले ।

नेपालका बलिङतर्फ प्लेयर अफ द म्याच समेत घोषित नेपालका सोमपाल कामीले ४ ओभरमा १ मेडन राख्दै २० रन खर्चेर ३ विकेट लिए । नेपालका लागि बिहीबार डेब्यु गरेका कमल ऐरीले पनि उत्कृष्ट बलिङ गर्दै तीन विकेट हात पारे भने सन्दिप लामिछानेको नाममा पनि तीन विकेट रह्यो । त्यस्तै सुशन भारीले १ विकेट लिए ।


प्रतिक्रिया दिनुहोस

Loading...