ट्राई नेशन्स सिरिजः नेपालको लगातार दोस्रो जित

काठमाडौं (खेलदैनिक) । ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएपछि नेपालले जारी ट्राई नेशन्स सिरिज अन्तर्राष्ट्रिय टि–२० क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ ।

सोमबार टियु क्रिकेट मैदानमा भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियामाथि ९ विकेटको शानदार जित हात पा–यो । स्मरण रहोस, नेपालले आफ्नो पहिलो खेलमा पनि नेदरल्याण्डसमाथि समान ९ विकेटको जित हात पारेको थियो ।

टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले मलेसियालाई १६.५ ओभरमा १०९ रन मात्र बनाउन दिएर अलआउट गरेको थियो । कसिलो बलिङ गरेको नेपालका लागि करन केसीले ३ विकेट लिंदा सन्दिप लामिछानेले २ विकेट हात पारे । त्यस्तै सोमपाल कार्मी, दिपेन्द्र सिंह ऐरी, शाहब आलम र कुशल मल्लले समान १–१ विकेट लिए ।

मलेसियाका लागि ओपनर सयद अजिजले सर्वाधिक २७ रनको योगदान दिए भने शार्वित मुनियन्डीले २० रनको योगदान दिए । त्यस्तै शफिक शरिफले पनि १५ रन बनाए भने अन्य ब्याटसम्यानहरुले दोहोरो रन बटुल्न सकेनन् ।

उता जवाफी लक्ष्य पछ्याएको नेपालले भने १२.१ ओभरमा मात्र एक विकेट गुमाएर १ सय १३ रन बनाउँदै शानदार जित हात पारेको थियो । नेपालका लागि कुशल भुर्तेलले नटआउट ६१ रन बनाए । आफ्नो पारीमा हुने ५ छक्का र तीन चौका प्रहार गरे ।

त्यस्तै आशिफ शेखले पनि ४२ रनको महत्वपूर्ण पारी खेले । शेखले कुशल भुर्तेलसँग मिलेर पहिलो विकेटका लागि १०२ रनको शतकीय साझेदारी गरेका थिए । यी दुई ओपनरले नेदरल्याण्डस विरुद्ध पनि किर्तिमानी शतकीय साझेदारी गरेका थिए । दिपेन्द्र सिंह ऐरी ६ रनमा नटआउट रहे ।

सोमबारको खेलमा मलेसिया विरुद्ध ३ ओभर बलिङ गर्दै १७ रन खर्चेर ३ विकेट लिएका करन केसी प्लेयर अफ द म्याच घोषित भए । यो जितसँगै नेपालले कुल ४ अंक जोड्दै शिर्ष स्थानमा छ । नेदरल्याण्डस २ अंकका साथ दोस्रो स्थानमा छ भने अंकविहीन मलेसिया पुछारमा छ ।

नेपालले आफ्नो आगामी खेल मंगलबार नेदरल्याण्डससँग खेल्नेछ । त्यो खेलमा जित हात पार्न सके नेपाल एक खेल अगावै फाइनलमा प्रवेश गर्न समेत सफल हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...