ट्राई नेशन्स सिरिजः नेपालको शानदार शुरुवात

(तस्विरः क्यान)

काठमाडौं (खेलदैनिक) । शनिबारदेखि शुरु ट्राई नेशन्स सिरिज अन्तर्राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा आयोजक नेपालले शानदार जित हात पारेको छ । टियु क्रिकेट ग्राउण्डमा सम्पन्न सिरिजको पहिलो खेलमा नेपालले बलियो आँकिएको नेदरल्याण्डसमाथि ९ विकेटको शानदार जित दर्ता गर्यो ।

टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले डच टोलीलाई निर्धारित २० ओभरमा १३६ रन मात्र बनाउन दियो । नेदरल्याण्डसका लागि बास डे लिडेले सर्वाधिक ४१ रन बनाए भने स्कट इडवार्टसले ३० रनको योगदान दिए ।

बलिङतर्फ नेपालका लागि स्टार लेगस्पिनर सन्दिप लामिछानेले २ विकेट लिए । किफायती बलिङ गरेको नेपालका लागि शाहब आलम र सोमपाल कामीले पनि एक–एक विकेट आफ्नो नाममा लेखाए ।

उता जवाफी लक्ष्य पछ्याएको नेपालले मात्र १५ ओभरमा १ विकेट गुमाएर १४१ रन बनाउँदै शानदार जित दर्ता गर्न सफल भयो । नेपालका लागि डेब्यु म्याच खेलिरहेका ओपनर कुशल भुर्तेलले सर्वाधिक ६२ रन बनाए भने अर्का ओपनर आशिफ शेख पनि ५२ रनमा नटआउट रहे ।

अन्तर्राष्ट्रिय टि–२० म्याचमा डेब्यु गरेका दुवै कुशल र आशिफले पहिलो विकेटका लागि ११६ रनको किर्तिमानी साझेदारी गरे । साथै पहिलो विकेटका लागि यसअघि पारस खड्का र ज्ञानेन्द्र मल्लले बनाएको किर्तिमान समेत उनीहरुले तोड्न सफल भए ।

खेलको प्लेयर अफ द म्याच कुशल भुर्तेल बने । यो जितसँगै तीन देश सम्मिलित सिरिजमा नेपालले २ अंक जोड्न सफल भएको छ । नेपालले आफ्नो दोस्रो खेल सोमबार मलेसियासँग खेल्नेछ । त्यस्तै नेदरल्याण्डसले आइतबार नै मलेसियाासँग आफ्नो दोस्रो खेल खेल्दैछ ।

लिग चरणका खेल पश्चात् शिर्ष दुई टोली फाइनलमा पुग्ने छन् । सिरिजको फाइनल खेल भने बैशाख १० गतेका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...