यु–१३ स्कुल क्रिकेटः एन्जल्स हार्टको दोश्रो जित

काठमाडौं (खेलदैनिक) । आयोजक एन्जल्स हार्ट नेसनल स्कुलले यु–१३ एन्जल्स हार्ट नेसनल स्कुल छात्र जुनियर क्रिकेट लिग– २ मा शुक्रबार लगातार दोश्रो जित हात पारेको छ ।

एन्जल्स हार्ट नेसनलले अर्को आयोजक एन्जल्स हार्ट सेकेन्डरी स्कुललाई ९ विकेटले सहजै पराजित ग–यो । पहिले ब्याटिङ गरेको एन्जल्स हार्ट सेकेन्डरीले १३.१ ओभरमा अलआउट हुँदै ६३ रन बनायो । एन्जल्स हार्ट सेकेन्डरीका सक्षमराज श्रेष्ठले ३५ रन जोडे । बलिङमा एन्जल्स हार्ट नेसनलका युवराज खत्रीले ७ विकेट लिए ।

जवाफमा एन्जल्स हार्ट नेसनलले ८.१ ओभरमा मात्र १ विकेट गुमाइ लक्ष्य भेटायो । जोय थापाले ३९ तथा ‘म्यान अफ द म्याच’ युवराज खत्रीले ८ रन जोडे । पहिलो खेलमा एन्जल्स हार्ट नेसनलले ओसिसलाई ४० रनले हराएको थियो ।

मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरमा भइरहेको प्रतियोगिताको अर्को खेलमा ओसिसले जीएचसीए ‘बी’ लाई २८ रनले पन्छायो ।

सुरुमा व्याटिङमा उत्रेको ओसिसले निर्धारित २० ओभरमा ४ विकेट क्षतिमा १८२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । ‘म्यान अफ द म्याच’ सम्यम नेपालले ७५ तथा रोहित शर्माले ५० रन जोडे । बलिङमा जीएचसीएका वंश क्षेत्रीले ३ विकेट झारे ।

प्रत्युत्तरमा जीएचसीए ४ विकेट नोक्सानीमा २० ओभरमा १५३ रनमा समेटियो । वंश क्षेत्रीले ५८ तथा गकल अधिकारीले ४० रन प्रहार गरे । ओसिसका राजु विकले २ विकेट हात पारे ।


प्रतिक्रिया दिनुहोस

Loading...