नेपाल हङकङ विरुद्ध ७ विकेटले विजयी, तीन खेलाडीको अर्ध शतक

चैत १७ / बंगलादेशमा जारी एसीसी इमर्जिङ कपमा नेपालले हङकङलाई ७ विकेटले पराजित गरेको छ । २ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले ४४ अोभर २ बलमा तीन विकेट गुमाएर  २ सय २० रन बनाएको हो । यसअघिका दुवै खेल गुमाएको नेपालले हङकङसँग सान्त्वना जित निकालेको हो । 

इमर्जिङ कपको समूह चरणबाटै बाहिरिसकेका नेपाल र हङकङबीच प्रतिष्ठाको थियो । नेपालका कप्तान  ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र दिपेन्द्र सिंह ऐरीले अर्धसतक बनाए । दिपेन्द्र सिंह ऐरीले ८३ बलमा अविजित ६० रन बनाए । उनले ५ चाैका र १ छक्का हाने । उनले ४५ अाैँ अोभरको दोस्रो बलमा छक्का हानेर शानदार जित दिलाएका हुन् ।

शरद भेषावकरले ५१ बलमा अविजित ५५ रन बनाए । उनले ३ छक्का ३ चौका हानेका थिए । नेपालका कप्तान ज्ञानेन्द्र मल्लले ११ चौकाको मद्धतमा ८२ बलमा ७० रन बनाए । आशिफ शेखले २३ बलमा ८ रन बनाए । यस्तै दिलिप नाथले २९ बलमा १२ रन बनाए ।

यसअघि बंगलादेशको कक्स बजारमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा सबै विकेट जाँदा २ सय १४ रन बनाएको थियो । नेपालका अविनाश कर्णले तीन तथा भुवन कार्की, सुशन भारी र ज्ञानेन्द्र मल्लले दुई दुई विकेट लिए । यस्तै सन्दिप लामिछानेले एक विकेट लिए ।

नेपाल पहिलो खेलमा पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग ६ विकेटले हारेको थियो । दोस्रो खेलमा बंगलादेशको २३ वर्षमुनिको टोलीसँग ८३ रनले पराजित भएको थियो ।  यसअघि सन् २०१३ मा सिंगापुरमा भएको इमर्जिङ कपमा नेपालले समूह चरणको तिनवटै खेलमा पराजय भोगेको थियो।

एक दिवसीय खेलमा नेपाल र हङकङको यो दशौं भेट हो । यसअघिका ९ खेलमा नेपालले ५ खेल जितेको थियो भने चार खेलमा पराजित भएको थियो । हङकङसँग पछिल्लो पटक सन् २०१४ मा एसिसी प्रिमियर लिगमा भेट हुँदा नेपाल ७ विकेटले विजयी भएको थियो । प्रतियोगितामा चार एसोसिएट राष्ट्र नेपालसँगै अफगानिस्तान, मलेसिया र हङकङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तान, भारत, बंगलादेश र श्रीलंकाका २३ वर्षमुनिका खेलाडीको सहभागिता भएको हो ।

File Photo


प्रतिक्रिया दिनुहोस

Loading...