नेपाल इमर्जिङ कपको समूह चरणबाट बाहिरियो, बंगलादेशसँग पनि पराजित

काठमाडौं , १५ चैत। एसीसी इमर्जिङ कप क्रिकेटमा नेपाल लगातार दोस्रो हारसँगै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । नेपालले बंगलादेशसँग ८३ रनको हार व्यहोरेको छ ।  यस अघि आइतबार भएको खेलमा नेपाल पाकिस्तान यू २३ टोलीसँग ६ विकेटले पराजित भएको थियो। अब नेपालले बिहीबार हङकङसँग प्रतिष्पर्धा गर्ने छ।

घरेलु टोली बंगलादेशले दिएको २५८ रनको लक्ष्य पछ्याएको नेपाल ४२.३ ओभरमा १७४ रन जोड्दा अलआउट भयो । दोस्रो ओभरको अन्तिम बलमा कप्तान ज्ञानेन्द्र मल्ल शुन्यमै आउट भए, जतिबेला टिमको स्कोर मात्र १ रन थियो ।अर्का ओपनर सुनिल धमला मात्र १ रनमा आउट भए भने आसिफ शेख पनि मात्र १२ रन बनाएर पभेलियन फर्किए ।

पहिलो पटक सिनियर टोलीबाट खेलिरहेका दिलिपनाथले दिपेन्द्रसिंह ऐरीसँग मिलेर नेपालको पारी सम्हाले । उनीहरुले चौथो विकेटका लागि ९८ रनको साझेदारी गरे । ३० औं ओभरमा चौथो विकेटका रुपमा दिलिपनाथ ४१ आउट भए, जतिबेला टिमको स्कोर १४४ रन थियो ।

दिलिपनाथ र दिपेन्द्रको साझेदारी टुटेपछि नेपालले लगातार विकेट गुमायो । शरद भेषावकर मात्र २ रनमा आउट भए । छैटौं विकेटका रुपमा दिपेन्द्र सिंह ऐरी ५६ रनमा आउट भए । ८५ बलको सामना गरेका उनले ६ चौका हाने ।

थप ११ रन जोड्दा महबुब आलम पनि व्यक्तिगत १० रन जोडेर आउट भए । विनोद भण्डारीले केही आक्रामक सट खेल्ने प्रयास गरे र २३ बलमा ६ चौका र एक छक्कासहित ३३ रन बनाए । तर, ४० औं ओभरमा साइफ उदिनको शिकार बने । थप तीन ओभर खेल्दा नेपाली टोली अलआउट भयो । भुवन कार्की ६ रनमा आउट भए भने अभिनाश कर्ण १ रनमा रनआउट भए । सन्दिप लामिछाने ३ रनमा अविजित रहे ।बंगलादेशका लागि रहतुल जावेदले ४ विकेट लिँदा सइद उद्धिनले ३ र अबुल हसन राजुले २ विकेट लिए । नेपालले १६ रन जोड्दा सुरुवाति ३ विकेट गुमाएको थियो ।

यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले सुरुवाती ५ ओभरमा १५ रन जोड्दा बंगलादेशको महत्वपूर्ण ३ विकेट लिएको थियो । तीनै विकेट अभिनाशले लिएका थिए । सन्दिपले २ विकेट लिँदा ज्ञानेन्द्र मल्ल, महबुब आलम र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए । ११औं ओभरको अन्तिम बलमा महबुब आलमले नेपालका लागि चौथो सफलता दिलाउँदा घरेलु टोलीको स्कोर मात्र ३३ रन थियो ।

तर, मोनिनुल हक र नासिर हुसेनले बंगलादेशको पारी सम्हाले । पाँचौं विकेटका लागि ७८ रनको साझेदारी गरेका मोमिनुल हक व्यक्तिगत ६१ रनमा आउट भए । त्यसपछि बंगलादेशले एकपछि अर्का विकेट त गुमायो तर, नासिरले एउटा एण्डमा बसेर पारी सम्हाले । उनले नवौं विकेटका रुपमा अबुल हसन राजुसँग ७६ रनको साझेदारी गरे, जुन नेपालका लागि घातक बन्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...