नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित

चैत १४ – एसिसी इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पाकिस्तानको २३ वर्षमुनिको टिमले ४५ ओभर १ बलमा ४ विकेट जाँदा पूरा गरेको हो ।

पाकिस्तानका लागि इमाम उलहकले सतक बनाए । १ सय ३५ बलका खेलेका उनले ९ चौकाको मद्धतमा अभिजित १ सय ४ रन बनाए । शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा नेपालको कप्तानी सम्हालेका ज्ञानेन्द्र मल्लले २ विकेट र युवा स्टार सन्दिप लामिछानेले २ विकेट लिएका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो । नेपालका लागि सुनिल धमलाले १ सय २५ बलमा ४३, शरद भेषवाकरले ५९ बलमा ३८, विनोद भण्डारीले ३२ रनमा २४ तथा आरिफ शेखले ३० बलमा नटआउट १८ रन बनाए । यस्तै दिपेन्द्र सिंह ऐरीले २९ बलमा १४, सागर पुनले चार बलमा चार, सुसन भारीले पाँच बलमा तीन तथा कप्तान ज्ञानेन्द्र मल्लले १८ बलमा दुई रन बनाएका थिए ।

पाकिस्तानको तर्फबाट गुलाम मुदासारले ५, उसामा मिरले २, जफर गोहारले १ र बिलाल आसिफ १ विकेट लिएका थिए ।  अस्वस्थताका कारण पारस खड्का टिममा छैनन् । स्पिनरद्वय शक्ति गौचन र वसन्त रेग्मी  तथा पहिलो रोजाइका फाष्ट बलर सोमपाल कामीलाई पनि आराम दिइएको छ ।

दोस्रो खेलमा नेपालले मंगलबार बंगलादेशसँग खेल्नेछ । खेल तालिकानुसार नेपाल समूह ‘बी’ मा छ । समूह ‘बी’मा आयोजक बङ्गलादेश, पाकिस्तान र हङकङ छन् । त्यस्तै समूह ‘ए’ मा भारत, श्रीलङ्का, अफगानिस्तान र मलेसिया छन् ।

तस्बिर : रमन सिवाकाेटी/म्यानेजर,टेक्निकल एनालिष्ट


प्रतिक्रिया दिनुहोस

Loading...