अबुधाबी टि–१० लिगमा नेपालमा तीन खेलाडीले खेल्ने तय

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीहरु करन केसी, सोमपाल कामी र कुशल मल्लले अबुधाबी टि–१० लिग खेल्ने निश्चित भएको छ ।

बुधबार भएको ड्राफ्टबाट नेपालका ‘गुल्मी एक्सप्रेस’का उपनामले परिचित सोमपालले गत सिजनको विजेता मराठा अरेबियन्सका लागि खेल्ने छन् । सोमपाललाई क्लबले के कति रकममा अनुवन्ध गरेको हो, त्यो भने खुलाइएको छैन । यसपटक सोमपालको टोलीमा दुई पाकिस्तानी हस्ती शोहेब मलिक र मोहम्मद हाफिज पनि छन् ।

त्यस्तै अर्का बलर करन केसीलाई पुणे डेविल्सले अनुवन्ध गरेको छ । केसीको अनुवन्ध रकमबारे पनि खुलाइएको छैन । केसीको टोलीमा इङल्याण्डका साम बिलिंग्स, श्रीलंकन हस्तीद्वय थिसरा परेर र अजन्था मेन्डिस रहेका छन् ।

त्यसैगरी नेपालका उदीयमान युवा ब्याट्सम्यान कुशल मल्ललाई टिम अबुधाबीले अनुबन्ध गरेको छ । अबुधाबी त्यहि टोली हो जहाँ नेपालका पूर्व कप्तान पारस खड्का इमर्जिङ ट्यालेन्ट मेन्टरका रुपमा आवद्ध भएका छन् ।

यस सिजन मल्लको टोलीमा क्यारिबियन किंग क्रिस गेल, दक्षिण अफ्रिकी बलर क्रिस मोरिस, इङलिस स्टारद्वय एलेक्स हेल्स र लुक राईट आवद्ध रहेका छन् ।

नेपालका चार खेलाडी थिए ड्राफ्टमा

अबुधाबी टि–१० लिगमा नेपालका चार खेलाडीहरुले ड्राफ्ट पाएका थिए । जसमा कुशल मल्ल, सोमपाल कामी, करन केसीसँगै दिपेन्द्र ऐरी पनि थिए । स्मरण रहोस, यो टि–१० लिगमा यसअघि पारस खड्का र सन्दिप लामिछानेले खेलिसकेका छन् ।

टि–१० लिगमा आठ टोली

आउँदो बर्ष (२०२१) को जनवरी २८ देखि फेब्रुअरी ६ तारीखसम्म हुन गईरहेको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाउने छन् । जसमा साविक विजेता मराठा अरेबियन्स सहित पुणे डेविल्स, टिम अबुधाबी, बंगला टाईगर्स, डेकन ग्लाडिएटर्स, कलन्दर्स, दिल्ली बुल्स र नर्दन वारियर्स रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...