एसिसी इमर्जिङ कप खेल्न नेपाली क्रिकेट टोली बंगलादेश प्रस्थान

काठमाडौं, चैत १२ / एसिसी इमर्जिङ टिम कप खेल्न नेपाली क्रिकेट टोली बंगलादेश प्रस्थान गरेको छ । १९ जना खेलाडीसहितको नेपाली टोली शनिबार बेलुका ५ बजे बंगलादेशतर्फ उडेको हो ।

टोलीको शनिबार बिदाइ गरिएको छ । काठमाडौंमा विशेष कार्यक्रम गरेर राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्ट, नेपाल एअरलाइन्सका सिनियर क्याप्टेन विजय लामा लगायतले खेलाडीलाई शुभकामना दिएर विदाइ गरेका हुन् ।

बिदाइ कार्यक्रममा नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले नेपाली टोलीमा युवा खेलाडीको वर्चश्व रहेकाले नेपालले जित्नकै लागि खेल्ने र अवसरलाई खेर नफाल्ने बताए । प्रशिक्षक जगत टमाटाले युवाहरुबाट धेरै आशा गरेको बताए ।
इमर्जिङ कपमा नेपाल, अफगानिस्तान, हङकङ र मलेसियाका राष्ट्रिय टोलिसहित भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका २३ वर्षमुनिका टोलीले खेल्ने छन् ।

नेपालका बसन्त रेग्मी, पारस खड्का, सोमपाल कामी, शक्ति गौचन भने यो प्रतियोगितामा खेल्ने छैनन् । नेपालले आफ्नो पहिलो खेल आगामी सोमबार पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...