एसिसी इमर्जिङ कप: नेपाली टोली घोषणा; पारस, शक्ति , वसन्त र सोमपाल नखेल्ने

काठमाडौं, २ चैत – बंगलादेशमा हुने एसिसी इमर्जिङ नेशन कप क्रिकेटको लागि ४ वैकल्पिकसहित १९ जना खेलाडी छनौट भएका छन् । आउँदो मार्च २५ देखि अप्रिल ४ तारिखसम्म प्रतियोगिता हुनेछ । 

आइसिसीका प्रतिनिधी वैकटपति राजु, प्रशिक्षक जगत टमाटा, पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लको छनौट समितिले अन्तिम टोलीको टुंगो लगाएको हो । स्वास्थ्यका कारण पारस खड्का नखेल्ने भएपछि कप्तानको जिम्मा ज्ञानेन्द्र मल्ललाई दिइएको छ । प्रतियोगिताका लागि पारससहित चार खेलाडीलाई आराम दिएको छ । शक्ति गौचन ,बसन्त रेग्मी, सोमपाल कामीलाई आराम दिएर टोलीमा भुवन कार्की, सुसन भारी, दिपेश श्रेष्ठ र आसिफ शेखलाई स्थान दिइएको हो । सोमपाललाई सामान्य चोट छ ।

नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल, शरद भेषवाकार, विनोद भण्डारी, सागर पुन, आरिफ शेख, मेहबुब आलम, दिपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, आषिफ शेख, अविनाश कर्ण, सुनिल धमला, भुवन कार्की, सुशन भारी, दिपेश श्रेष्ठ र दिलिपनाथ रहेका छन् । वैकल्पिक खेलाडीमा कुशन भुर्तेल, जितेन्द्र कुमार मुखिया, राजेश पुलामी र सुशील कँडेल रहेका छन् ।

नेपाली टोली मार्च २५ मा बंगलादेश प्रस्थान गर्नेछ । प्रशिक्षक टमाटाले १९ मार्चबाट टोलीको प्रशिक्षण सुरु हुने बताएका छन् । विश्व क्रिकेट लिग च्याम्प्यिनसिपअन्तर्गत केन्याविरुद्ध शनिबार र सोमबार दुई खेलपछि खेलाडीलाई केही दिनको विदा दिइएको छ । पहिलो खेल शनिबार ५ विकेटले गुमाएको नेपालले दोस्रो खेल ७ विकेटले जितेको थियो । पारसले केन्याविरुद्धका दुवै खेल गुमाएका थिए ।

इमर्जिङ कपमा नेपाल, अफगानिस्तान, हङकङ र मलेसियाका राष्ट्रिय टोलिसहित भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका २३ वर्षमुनिका टोलीले खेल्ने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...