तेस्रो खेलमा नेपालको फराकिलो जित

काठमाडौं (खेलदेनिक) । एसीसी टि–२० इस्टर्न रिजन क्रिकेट प्रतियोगितातर्फ नेपालले आफ्नो तेस्रो खेलमा फराकिलो जित हात पारेको छ । बुधबार भएको खेलमा नेपालले आयोजक थाइल्याण्डमाथि ९ विकेटको जित निकाल्यो ।

टस हार्दै पहिले फिल्डिङको निम्तो पाएको नेपालले थाइल्याण्डलाई निर्धारित २० ओभरमा ६६ रन मात्र बनाउन दियो । नेपालका लागि म्यान अफ द म्याच समेत घोषित करन केसीले ३ विकेट लिए भने अविनास बोहराले २ विकेट हात पारे ।

त्यस्तै सन्दिप लामिछाने र भुवन कार्कीले १–१ विकेट लिए । खेलमा सन्दिपले अन्तर्राष्ट्रिय टि–२० म्याचमा एक विश्व किर्तिमान बनाए । सन्दिपले थाइल्याण्ड विरुद्ध सर्वाधिक २२ डट बल फ्याँक्दै किर्तिमान बनाएका हुन् । यसअघि यो किर्तिमान पाकिस्तानी बलर मोहम्मद आमिरको नाममा थियो । आमिरले २१ डट बल फ्याँकेका थिए ।

त्यस्तै जवाफी लक्ष्य पछ्याएको नेपालले ५.३ ओभरमा १ विकेट गुमाएर ७२ रन बनाउँदै सहज जित हात पारेको थियो । नेपालका लागि ओपनरद्वय कुशल मल्ल र पवन सर्राफले क्रमशः नटआउट ३६ र २७ रनको योगदान दिए ।

प्रतियोगिता अन्तरगत नेपालले आफ्नो अन्तिम खेल सिंगापुरसँग शुक्रबार खेल्नेछ । स्मरण रहोस, नेपालले आफ्नो शुरुवाती दुई खेलमा अप्रत्याशित हार बेहोर्दै प्रतियोगिताबाट लगभग बाहिरिसकेको छ र नेपालको गणितीय सम्भावना मात्र कायम छ ।

बुधबारको नतिजापछि ३ खेलबाट २ अंक जोडेको नेपाल चौथो स्थानमा छ । ४–४ अंक जोडेका सिंगापुर हङकङ र मलेसिया भने क्रमशः पहिलो दोस्रो र तेस्रो स्थानमा छ । अंकविहीन थाइल्याण्ड भने पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...