नेपालको लगातार दोस्रो हार

काठमाडौं (खेलदैनिक) । एसीसी टि–२० इस्टर्न रिजन क्रिकेट खेल्ने थाइल्याण्डमा रहेको नेपालले आफ्नो दोस्रो खेलमा पनि लगातार दोस्रो हार बेहोरेको छ । आइतबार भएको खेलमा नेपालले हङकङसँग ४३ रनको हार बेहोर्यो ।

खेलमा टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले हङकङलाई निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाउन दियो । हङकङका लागि ओपनर निजाकत खानले सर्वाधिक ४८ रनको पारी खेले । त्यस्तै एजाज खानले २९ रन बनाए ।

बलिङतर्फ नेपालका लागि सन्दिप लामिछाने र सुसन भारीले २–२ विकेट लिए । त्यस्तै कुशल मल्लले एक विकेट आफ्नो नाममा लेखाए ।

उता जवाफी लक्ष्य पछ्याएको नेपाल भने फेरि ब्याटिङमा निरीह देखियो । नेपालले १८.१ ओभर खेल्दै १११ रनमै अलआउट हुन पुग्यो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४६ तथा कुशल मल्लले १९ रन बनाउनु बाहेक अन्य कुने नेपाली ब्याटसुम्यान टिक्न सकेनन् ।

त्यस क्रममा नेपाल सात ब्यासम्यानहरुले दोहोरो अंक समेत छुन सकेनन् । हङकङका लागि मोहम्मद अरशदले सर्वाधिक ५ विकेट लिए भने अफताब हुसेन तीन तथा एहसान खानले २ विकेट लिए ।

स्मरण रहोस, नेपालले शनिबार मात्र आफ्नो पहिलो खेलमा मलेसियासँग २२ रनको स्तब्धपुर्ण हार बेहोरेको थियो । प्रतियोगिता अन्तरगत नेपालले आउँदो बुधबार आयोजक थाइल्याण्डसँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...