पहिलो खेलमै नेपालको स्तब्धपुर्ण हार

काठमाडौं (खेलदैनिक) । थाइल्याण्डमा शुरु एसीसी इस्टर्न रिजन टि–२० क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमै स्तब्धपुर्ण हार बेहोरेको छ । शनिबार बैंककमा भएको आफ्नो पहिलो खेलमा नेपालले तुलनात्मक रुपमा कमजोर आँकिएको मलेसियासँग २२ रनले पराजित हुन पुग्यो ।

टस जित्दै पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रनको सम्मानजनक योगफल तयार पारेको थियो । मलेसियाका लागि मोहम्मद अनवर अरुदिनले सर्वाधिक ३१ रन बनाए भने अहमद फैज मोहमदले ३० रनको योगदान दिए ।

बलिङतर्फ नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट लिए भने अविनाश बोहराले २ विकेट हात पारे । त्यस्तै करन केसीले १ विकेट आफ्नो नाममा लेखाए ।

उता जवाफी लक्ष्य पछ्याएको नेपाल १९.४ ओभर खेल्दै १३२ रनमा अलआउट हुन पुगेको थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरीले समान ३८–३८ रन बनाए तापनि अन्य ब्याट्सम्यानहरु जम्न नसक्दा नेपालले स्तब्धपुर्ण हार बेहोर्न पुग्यो ।

प्रतियोगिता अन्तरगत नेपालले आफ्नो दोस्रो खेल आइतबार हङकङसँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...