सर्वाधिक पुरस्कारको धनगढी प्रिमियर लिग सर्‍यो, चैत २७ देखि

खेलदैनिक, १ चैत / सर्वाधिक पुरस्कार राशिको चौथो ‘सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग’ को आयोजना मिति परिवर्नत भएको छ । 

धनगढी क्रिकेट एकेडेमी (डीसीए) र सुदुरपश्चिमाञ्चल एकेडेमी (एसपीए) को संयुक्त आयोजनामा हुने चौथो संस्करणको प्रतियोगिता आगामी चैत १४ गतेदेखि एसीसी इमर्जिङ कपमा राष्ट्रिय टोलीका खेलाडीहरु व्यस्त हुने भएपछि  २२ दिन पछि सारेर चैत २७ देखि बैशाख ९ सम्म आयोजना गरिएको डिसिएलका अध्यक्ष, प्रतियोगिताका निर्देशक सुवास शाहीले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । यसअघि, चैत ५ गतेबाट आयोजना गरिने मिति तय भएको थियो ।

‘खेलाडी, प्रायोजक र अफिसियलसँगको सल्लाहमा देशको क्रिकेट र क्रिकेटको बृहत्तर हितलाई मध्यनजर गर्दै डिपिएल २२ दिन सार्ने निर्णय गरेका छौं ।’ मंगलबार जारी बिज्ञप्तिमा उल्लेख छ । सन् २०१० देखि सुरु भएको देशकै सर्बाधिक ठुलो धनराशीको प्रतियोगिता होटल डिभोटी एसपीए कप र अघिल्लो वर्ष नेपालमै पहिलो पटक खेलाडी अक्सन प्रक्रियाद्वारा गरिएको धनगढी क्रिकेट लिगको मर्जर गरी धनगढी प्रिमियर लिग आयोजना हुन लागेको हो।

टी–ट्वान्टी फरम्याटमा हुने यस धनगढी प्रिमियर लिगको चौथो संस्करणमा पुरस्कार रकम तीन गुणा बृद्धि गरेर १५ लाख पुर्याइएको छ । उपविजेताले भने ७ लाख पाउनेछ । प्रतियोगितामा हरेक खेलको म्यान अफ द म्याचले १० हजार र म्यान अफ द सिरिजले मोटरसाइकल पुरस्कार पाउनेछन् । यसअघि प्रथम हुने टिमले पाँच लाख पुरस्कार पाएको थियो ।

प्रतियोगितामा हरेक टिमले लिग चरणमा एक–एक खेल खेल्नेछन् । शीर्ष चार टोली प्लेअफको लागि छानिने छ । प्लेअफमा पहिलो हुने टिम फाइनल प्रवेश गर्नेछ । उसले तेस्रो र चौथो टिमबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ । प्रतियोगिता अञ्चल प्रहरी मैदानमा हुनेछ भने फाप्ला मैदानलाई पनि वैकल्पिक मैदानको रुपमा राखिएको छ ।

प्रतियोगितामा सहभागिता जनाउने ६ टिमको नाम देशभरिका विभिन्न शहरको नामबाट राखिएको छ । र, यस सस्करणमा टिम चौराहा धनगढी, सीवाईसी अत्तरिया,रुपन्देही च्यालेन्जर्स, बिराटनगर किङस, कन्चनपुर आईकोनिक र काठमाडौ गोल्डेन्सले सहभागिता जनाएका छन् । सबै सहभागी टिमका कप्तानहरू राष्ट्रिय टिमका सदस्यहरू छन् ।

प्रत्येक टिमका कप्तानी लक्की ड्रबाट घोषणा गरिएको हो । प्रत्येक टिमका कप्तानले १ लाख ५० हजार पारिश्रामिक पाउनेछन् । राष्ट्रिय टिमका कप्तान समेत रहेका पारस खड्काले टिम चौराहाको कप्तानी सम्हाल्ने छन् ।

उपकप्तान ज्ञानेन्द्र मल्लले सीवाईसी अत्तरियाको कप्तानी सम्हाल्ने छन् । त्यस्तै विराटनगर टिमको कप्तानी शरद भष्वाकर, काठमाडौं गोल्डेन्स बसन्त रेग्मी, कन्चनपुर आईकोनिक बिनोद भन्डारी र रूपन्देही च्यालेन्जर्सको कप्तानी शक्ति गौचनले सम्हाल्ने छन् ।

प्रतियोगितामा दर्शकहरुको लागि ५० रुपैयाँको टिकदर तोकिएको छ। त्यसमा विद्यार्थीहरुलाई ४० प्रतिशत छुट दिइनेछ। डीपीएल अ ट्रिबुट टु अर्जुन खड्का नाम दिइएको प्रतियोगितामा टीकटबाट उठेको रकमको २० प्रतिशत धनगढी एकेडेमीका दिवंगत पूर्वप्रशिक्षक उनै खड्काका छोरा छोराीको अध्ययनको लागि कोष खडा गर्न छुट्याइनेछ।

एसियाका चार टेष्ट राष्ट्र सम्मिलित एसीसी इमर्जिङ टिम्स कपमा नेपालले सहभागिता जनाउँदैछ । प्रतियोगितामा नेपाल समूह बी मा परेको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...