क्रिकेट रंगशालाको लागि यातायात प्रा.लि.ले प्रति टिकट १० रुपैयाँ दिने

मकवानपुर (खेलदैनिक) । छिमेकी जिल्ला चितवनमा हाँस्य कलाकार धुर्मुस–सुन्तलीले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि मकवानपुरबाट पनि विभिन्न सहयोग प्रदान भैरहेको छ । केही दिनअघि मात्रै मनहरी गाउँपालिकाले ढुंगा, गिट्टी, वालुवा सहयोग गरेको थियो ।

यस्तैमा हेटौंडा–काठमाण्डौं सञ्चालन हुने सुमो कम्पनी ओम शान्ति यातायात प्रा.लिले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्ने भएको छ । प्रा.लि.ले क्रिकेट रंगशालाको लागि प्रति टिकट दश रुपैयाँ छुट्याउने अभियान सुरु गरिएको छ । फागुन १ गतेबाट यो अभियान सुरु भएको हो ।

सहयोग संकलन अभियानलाई दुई महिना सञ्चालन गर्ने ओम शान्ति यातायात प्रा.लिका हेटौंडा काउन्टर इन्चार्ज आशिष भट्टले जानकारी दिए । ‘राज्यले निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय रंगशाला हाँस्य कलाकारले बनाइरहेको अवस्था छ । छिमेकी जिल्लामा बनिरहेको रंगशालाको लागि हामीले पनि सकेको सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले प्रति टिकट १० रुपैयाँ छुट्याउन सुरु गरेका हौं’, उनले भने, ‘यसबाट यात्रुलाई कुनै मार पर्नेछैन । कम्पनीलाई आउने पैसाबाटै हामीले कटाउने गरेका छौं ।’

कम्पनीका सञ्चालक एवम् काउन्टर इन्चार्ज बिष्णु थापासंगको छलफल पश्चात यो अभियान सुरु गरिएको उनले बताए । ओम शान्ति कम्पनीको १७ वटा सुमो रहेको छ । सहयोग अभियानको लागि दैनिक एक हजारदेखि पन्ध्र सय रुपैयाँसम्म संकलन भैरहेको छ । व्यवसायसंगै सामाजिक उत्तरदायित्वलाई शिरोपर गर्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानलाई सहयोग गर्न खोजिएको काउन्टर इन्चार्ज भट्टले बताए ।

उनी अगाडी भन्छन् ‘यो महाअभियानलाई सबैको साथ र सहयोगको आवश्यक छ । सबैको सहयोगबाट मात्रै अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाले पूर्णता पाउनेछ’, उनले भने, ‘सकेको सहयोग गर्नका लागि विशेष गरी युवा पुस्तालाई अनुरोध गर्न चाहन्छु ।’ दुई महिनापछि संकलन भएको रकम धुर्मुस सुन्तलीलाई हस्तान्तरण गरिने तयारी रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...