नेपालको घातक बलिङमा अमेरिका निरीह

काठमाडौं (खेलदैनिक) । आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तरगत नेपालमा जारी ट्राइ सिरिजको अन्तिम खेलमा आयोजक नेपालले शानदार र किर्तिमानी जित हात पार्यो । टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकामाथि ८ विकेटको फराकिलो जित हात पार्यो ।

त्यसमा पनि नेपालको बलिङ र अमेरिकाको योगफल थप चर्चाको विषय बन्यो । टस जित्दै अमेरिकालाई पहिले ब्याटिङको निम्तो दिएको नेपालले पाहुना टोली विरुद्ध घातक बलिङको नमूना प्रस्तुत गर्यो । नेपाली बलिङसामूह निरीह देखिएको अमेरिका १२ ओभरमै ३५ रन बनाएर अलआउट भएको थियो ।

एकदिवसीय क्रिकेटमा यो संयुक्त रुपमा किर्तिमानी सबैभन्दा कम योगफल हो । यसअघि सन् २००४ मा श्रीलंका विरुद्ध जिम्बाब्वे १८ ओभरमै ३५ रनमा अलआउट भएको थियो ।

बुधबार नेपालका लागि सन्दिप लामिछानेले ६ तथा सुशन भारीले ४ विकेट लिए । त्यसक्रममा सन्दिपमले ६ ओभरमा १ मेडन राख्दै १६ रन मात्र खर्चिए । एकदिवसीय क्रिकेटमा सन्दिपको पहिलो पाँच विकटको हाल थियो ।

उता जवाफी लक्ष्य पछ्याएको नेपालले केवल ५.२ ओभरमा दुई विकेट गुमाएर ३६ रन बनाउँदै सहज जित हात पारेको थियो । नेपालका लागि पारस खड्काले नटआउट २० रन बनाए भने दिपेन्द्र सिंह ऐरी १५ रनमा नाबाद रहे ।

स्मरण रहोस, ओमान, अमेरिका र नेपाल सम्मिलित यो सिरिजमा अपराजित रहेको ओमानले सिरिजमाथि कब्जा जमाइसकेको छ । नेपालले ओमानसँग भएको दुवै खेलमा हार बेहोरेको थियो भने अमेरिकालाई दुवै खेलमा पराजित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...