ट्राइ सिरिजः इल्यासको लगातार दोस्रो शतक, ओमान अपराजित

काठमाडौं (खेलदैनिक) । आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तरगत नेपालमा जारी तीन देश सम्मिलित एकदिवसीय ट्राइ सिरिजमा ओमानले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ ।

मंगलबार टियु क्रिकेट मैदानमा भएको आफ्नो चौथो खेलमा ओमानले अमेरिकामाथि ९२ रनको जित निकाल्यो । यसअघि ६ फेब्रुअरीका दिन भएको अमेरिका विरुद्धको पहिलो खेलमा पनि ओमानले ६ विकेटको जित हात पारेको थियो ।

टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७६ रनको फराकिलो योगफल तयार पारेको थियो । ओमानका लागि अकिब इल्यास र कप्तान जिशन मकसुदले शतकीय पारी खेले ।

इल्यासले १०५ रन बनाए भने मकसुदले १०९ रनको पारी खेले । मकसुदको यो एकदिवसीय क्रिकेटमा मेडन शतक समेत थियो । त्यस्तै जारी सिरिजमा इल्यासको भने यो लगातार दोस्रो शतक थियो । यसअघि उनले आइतबार मात्र नेपाल विरुद्ध १०९ रनको नटआउट शतकीय पारी खेलेका थिए ।

उता जवाफी लक्ष्य पछ्याएको अमेरिका भने ३९.१ ओभरमा १८४ रन बनाउँदै अलआउट भएको थियो । अमेरिकाका लागि निसर्ग पटेलले ५२ रन बनाए भने आरोन जोन्सले ४७ रनको योगदान दिए । यद्यपि टोलीको हार भने टार्न सकेनन् । खेलमा लगातार शतक बनाएका ओमानक अकिब इल्यास नै प्लेयर अफ द म्याच घोषित भए ।

स्मरण रहोस, ओमानले यो ट्राइ सिरिजको उपाधि नेपाललाई हराएसँगै जितिसकेको थियो । सिरिज अन्तरगत अन्तिम खेल बुधबार नेपाल र अमेरिकाबीच हुनेछ । यसअघि नेपालले अमेरिका विरुद्धको पहिलो खेलमा ३५ रनको जित हात पारेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...