ओमानसँग फेरि हार्यो नेपाल

काठमाडौं (खेलदैनिक) । आइसीसी क्रिकेट विश्वकप लिग टु को घरमै जारी ट्राइ सिरिजतर्फ नेपालले फेरि अर्को हार बेहोरेको छ । लिग चरणको पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको नेपालले आइतबार फेरि ८ विकेटको फराकिलो अन्तरको हार बेहोर्यो ।

टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४९ रनको सम्माजनक योगफल तयार पारेको थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रनको योगदान दिए । त्यस्तै पारस खड्काले ३८ रन बनाउँदा बिनोद भण्डारीले ३५ रनको योगदान दिए ।

बलिङर्फ ओमानका लागि अलराउण्ड प्रदर्शन गरेका अकिब लियासले सर्वाधिक ४ विकेट लिए भने मोहम्मद नदिमले ३ विकेट आफ्नो नाममा लेखाए ।

उता जवाफी लक्ष्य पछ्याएको ओमानले ४७.२ ओभरमा दुई विकेट गुमाएर २५० रन बनाउँदै फराकिलो जित आफ्नो नाममा गरायो । ओमानका लागि अकिब लियासले नटआउट १०९ रनको शतकीय पारी खेले । उनी खेलको प्लेयर अफ द म्याच समेत घोषित भए ।

त्यसबाहेक कप्तान जिसन मकशुदले पनि ६८ रनको नाबाद पारी खेले । ओपनरद्वय खवर अली र जतिन्दर सिंहले पनि क्रमशः ४१ र २३ रनको योगदान दिए ।

बलिङतर्फ सुसन भारी र कुशल मल्लले एक–एक विकेट लिए । जारी सिरिजमा ओमान अपराजित छ । लिग चरणको अन्तिम खेलमा नेपालले बुधबार अमेरिकासँग खेल्नेछ । उता ओमानले भने मंगलबार नै ओमानसँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...