नेपालको ऐतिहासिक दिन, रोमाञ्चक जित

काठमाडौं (खेलदैनिक) । आइसीसी क्रिकेट विश्वकप लिग दुईको ट्राइ सिरिजतर्फ नेपालले आफ्नो दोस्रो खेलमा उत्कृष्ट जित निकाल्दै खेलमा फर्किएको छ ।

शनिबार भएको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराउँदै पहिलो जित दर्ता गरेको हो । यद्यपि शनिबारको खेलमा ्नेपालका युवा क्रिकेटर कुशल मल्लको बडी चर्चा रह्यो ।

अमेरिका विरुद्ध डेब्यु गरेका कुशलले १५ बवर्ष ३४० दिनमा अर्धशतक बनाउँदै अन्तर्राष्ट्रिय पुरुष क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडी समेत बने । यसअघि यो किर्तिमान नेपाल कै रोहित पौडेलको नाममा थियो ।

रोहितले गत बर्ष युएई विरुद्ध १६ बर्ष १४६ दिनमा यो किर्तिमान बनाउँदै लिजेण्डरी क्रिकेटरद्वय सचिन तेन्दुलकर र शाहिद अफ्रिदीको किर्तिमान तोडेका थिए ।

उता शनिबार टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९० रनको सामान्य योगफल तयार पारेको थियो ।

नेपालको शिर्षक्रमका ब्याट्सम्यानहरु फेरि पनि राम्रोसँग चल्न सकेनन् । ओपनर र भरपर्दा मानिएका पारस खड्काले १९ रन तथा कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाउँदा ओपनर सुवास खकुरेल ३ रनमै आउट भएका थिए । यद्यपि कुशल मल्ले ५० तथा बिनोद भण्डारीले ५९ रनको अर्धशतकीय पारी खेल्दै नेपालको सम्मानजनक योगफल तयार पारेका थिए ।

उता जवाफी लक्ष्य पछ्याएको अमेरिका भने ४४.१ ओभरमा १५५ रन बनाउँदै अलआउट भएको थियो । अमेरिकाका लागि इयान होलान्डले ७५ रन बनाउँदै टोलीलाई निर्धारित लक्ष्यतर्फ डोर्याउने प्रयास गरे तापनि सफल भएनन् ।

बलिङतर्फ नेपालका लागि करन केसीले सर्वाधिक ४ विकेट लिए । ७.१ ओभर बलिङ गरेका केसीले १ मेडन राख्दै १५ रन मात्र खर्चिए । त्यस्तै सुशन भारीले ३ विकेट लिए भने सन्दिप लामिछानेले दुई तथा कुशल मल्लले १ विकेट आफ्नो नाममा लेखाए ।

खेलमा करन केसी प्लेयर अफ द म्याच घोषित भए । स्मरण रहोस, नेपालले आफ्नो पहिलो खेलमा ओमानसँग १८ रनको दुर्भाग्यपुर्ण हार बेहोरेको थियो । सिरिज अन्तरगत नेपालले आफ्नो तेस्रो खेल आइतबार नै फेरि ओमानसँग खेल्दैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...