नेपालको ऐतिहासिक दिन, खराब शुरुवात

काठमाडौं (खेलदैनिक) । आइसीसी क्रिकेट विश्वकप लिग टु कै एक हिस्साका रुपमा बुधबारदेखि नेपालमा शुरु तीनदेशीय एकदिवसीय क्रिकेट सिरिजमा नेपालले खराब शुरुवात गरेको छ ।

पहिलोपटक नेपालले एकदिवसीय क्रिकेट सिरिजको आयोजना गर्ने ऐतिहासिक अवसर पाएको दिन घरेलु टोलीले सिरिजको शुरुवात भने हारबाट शुरु गरेको छ ।

किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपालले ओमानसँग १८ रनको दुर्भाग्यपुर्ण हार बेहोर्यो । टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले ओमानलाई ५० ओभरमा १९७ रन मात्र बनाउन दियो ।

ओमानका लागि प्लेयर अफ द म्याच मोहम्मद नदिमले नटआउट ६९ रन बनाए भने सन्दिप गौडले ३३ रनको योगदान दिए । त्यस्तै तल्लो क्रमका ब्याट्सम्यान नसिम खुशीले पनि २८ रनको महत्वपूर्ण पारी खेले ।

बलिङतर्फ नेपालका लागि करन केसीले ४ लिए भने सुशन भारीले ३ विकेट आफ्नो खातामा पारे । दिपेन्द्र सिंह ऐरीले पनि एक विकेट आफ्नो नाममा लेखाए ।

उता जवाफी लक्ष्य पछ्याएको नेपालको ब्याटिङ लाईन भने शुरुवातबाटै लडबडाउन पुग्यो । र ४६.५ ओभर खेल्दै १७९ रनमै अलआउट हुन पुग्यो । ओपनरद्वय पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल क्रमशः ३ र १ रनको व्यक्तिगत योगफलमा आउट हुँदा नेपालको पारी शुरुवातबाटै बिथोलिन पुगेको थियो ।

शरद भेषवाकरले ५५ रन तथा दिपेन्द्र सिंह ऐरीले ३५ रन बनाउँदै घरेलु टोलीको पारी उकास्ने प्रयास गरे तापनि त्यो सफल भएन । त्यस्तै तल्लो क्रमका ब्याट्सम्यान सन्दिम लामिछानेले २८ तथा बिनोद भण्डारीले २६ रन बनाए पनि नेपालको हार टार्न भने सकेनन् ।

बलिङतर्फ ओमानका लागि जिशन मकसुदले सर्वाधिक ३ विकेट लिए । त्यसैगरी कलिमुल्लाह र बिलाल खानले २–२ विकेट हात पारे भने मोहम्मद नदिम, खवर अली र अकिश लियासले १–१ विकेट हात पारे ।

सिरिज अन्तरगत नेपालले आफ्नो दोस्रो खेल अमेरिकासँग ८ फेब्रुअरीका दिन खेल्नेछ । उता ओमानले भने बिहीबार नै अमेरिकासँग टियु मैदान मै भिड्नेछ ।

स्मरण रहोस, यो प्रतियोगितालाई सन् २०२३ मा हुने आइसीसी एकदिवसीय क्रिकेट विश्वकप छनौटको पहिलो खुड्किलोका रुपमा समेत हेरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...