अन्तर्राष्ट्रिय क्रिकेटका दुई परिचित अनुहारले इपिएल खेल्ने

काठमाडौं (खेलदैनिक) । ताजा रिपोर्ट बाहिर आए अनुसार यहि चैत्र १ गते (१४ मार्च) देखि शुरु हुन गईरहेको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा दक्षिण अफ्रिकाका पूर्व कप्तान तथा ब्याटसम्यान हसिम अमला र अफगानिस्तानका मोहमद शहजादले खेल्ने भएका छन् ।

खेलनेपालका अनुसार यी दुवै खेलाडीले नेपालमा खेल्ने पक्का पक्की भए तापनि कुन टोलीबाट खेल्ने हुने त्यो भने टुंगो लागेको छैन । तर, रिपोर्टअनुसार ३६ बर्षिय अमलाले पोखरा राइनोजबाट खेल्ने सम्भावना बलियो रहेको बताइएको छ ।

स्मरण रहोस, यसअघि पोखरा राइनोजबाटै अर्का दक्षिण अफ्रिकी क्रिकेटर रिचार्ड लेवीले खेलेका थिए । इपिएलमा सहभागी प्रत्येक टोलीले एक टेष्ट राष्ट्रका पूर्व खेलाडीलाई खेलाउनु पर्ने प्रावधान अनुसार नै अमला र शहजाद इपिएलमा खेल्न लागेका हुन् ।

अमलाले दक्षिण अफ्रिकाका लागि १२४ टेष्ट, १८१ एकदिवसीय र ४४ टि–२० समेत खेलेका थिए । अमलाले यी तीनै प्रारुपको क्रिकेटमा गरेर १८ हजार भन्दा बढी रन बनाइसकेका छन् ।

त्यस्तै अफगानिस्तानका आक्रमक ब्याटसम्यान तथा विकेटकिपर मोहमद शहजादले पनि अफगानिस्तानका लागि २ टेष्ट, ८४ एकदिवसीय र ६५ अन्तर्राष्ट्रिय टि–२० म्याच खेलिसकेका छन् ।

यी चर्चित अनुहारको नेपाली घरेलु क्रिकेटमा आगमन हुने पक्का भएसँगै यसले नेपाली क्रिकेटको क्षमता र विकास अभिबृद्धिमा पनि थप टेवा पुग्ने आशा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...