१३औं सागको पुरुष क्रिकेटमा बंगलादेशलाई स्वर्ण, नेपाललाई कास्य

काठमाडौं (खेलदैनिक) । जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष क्रिकेटतर्फको स्वर्ण पदक बंगलादेशले जितेको छ ।

सोमबार टियु मैदान किर्तिपुरमा सम्पन्न फाइनलमा श्रीलंकालाई ७ विकेटले पराजित गर्दै बंगलादेशले स्वर्ण पदक जितेको हो। श्रीलंकाले रजत पदक जित्यो। आजै सम्पन्न कास्य पदकको लागि खेलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै कास्य पदक आफ्नो नाम गर्यो ।

स्वर्ण पदकको लागि टियु मैदानमा सम्पन्न खेलमा श्रीलंकाले दिएको १२३ रनको लक्ष्य बंगलादेशले ३ विकेट गुमाएर १८.१ ओभरमा पुरा गर्यो । बंगलादेशको लागि कप्तान नज्मुल हुसेनले अविजित ३५ रन बनाए भने सिफ हुसेनले ३३, सौम्य सरकारले २७ तथा यासिर अलिले १९ रन बनाए ।

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा श्रीलंकाले २० ओभरमा सबै विकेट गुमाएर १२२ रन बनाएको थियो । श्रीलंकाको लागि शम्मु अशनले सर्वाधिक २५ तथा पाथुम निस्संकाले २२ रन योगदान दिए । बंगलादेश बलर हसन महमुदले सर्वा्धिक ३ विकेट तथा तन्भिर इस्लामले २ विकेट लिए । खेलको प्लेयर अफ द म्याच हसन महमुद चुनिए।

आयोजक नेपाललाई कास्य

त्यस्तै सोमबारै सम्पन्न कास्य पदकको लागि भएको खेलमा नेपालले माल्दिभ्सलाई ५ विकेटले पराजित गर्यो ।
माल्दिभ्सले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि आरिफ शेखले सर्बाधिक ३२ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले २२ रन, रोहित पौडेलले १४ रन र बिनोद भण्डारीले १२ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको माल्दिभ्सले २० ओभरको समाप्तीमा ७ विकेट गुमाएर ९४ रन बनाएको थियो । उसको लागि कप्तान मोहम्मद महफुजले सर्वा्धिक १९ रन तथा मोहम्मद रिजवानले १७ रन बनाए ।

माल्दिभ्सलाई सस्तैमा समेट्न नेपालका लागि म्यान अफ द म्याच समेत घोषित देब्रे हाते स्पिनर ललितसिंह राजबंशीले ३ विकेट लिए । ४ ओभर बलिङ्ग गरेका उनले मात्र ६ रन खर्चे। सुशन भारिले २ विकेट तथा पारस खड्काले १ विकेट लिए ।


प्रतिक्रिया दिनुहोस

Loading...