पुरुष क्रिकेटमा नेपालको स्वर्ण जित्ने सपना समाप्त

काठमाडौं (खेलदैनिक) । जारी १३औं सागको पुरुष क्रिकेटतर्फ आयोजक नेपालको स्वर्ण पदक जित्ने सपना समाप्त भएको छ । शनिबार टियु क्रिकेट मैदानमा भएको महत्वपूर्ण खेलमा बंगलादेश यु–२३ क्रिकेट टोलीसँग ४४ रनले पराजित भएपछि नेपालको स्वर्णको सपना तुहिएको हो ।

टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले शुरुवाती ओभरमा बंगलादेशी खेलाडीहरुलाई सस्तैमा आउट गरे तापनि कप्तान बंगलादेशी कप्तान नजमुल होसेनले ७५ रनको नटआउट पारी खेल्दा पाहुना टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रनको योगफल तयार पारेको थियो ।

उता जवाफी लक्ष्य पछ्याएको नेपाल भने शुरुवातबाटै संघर्ष गर्न बाध्य भयो । र, निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १११ रन मात्र बनाउन सक्यो । नेपालका लागि ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्लले ४३ रनको योगदान दिनुवाहेक अन्य कुनै नेपाली खेलाडीले क्रिजमा टिकेर खेल्न सकेनन् ।

खेलमा बंगलादेशका लागि नायकीय पारी खेलेको नजमुल होसेन नै प्लेयर अफ द म्याच घोषित भए । साथै, यो जितसँगै बंगलादेश फाइनलमा समेत प्रवेश गरेको छ । उता नेपालले भने अब काँश्यका लागि प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...