१३औं साग: पुरुष क्रिकेटमा नेपालको सम्भावना कायमै

काठमाडौं (खेलदैनिक) । १३ औं दक्षिण एसियाली खेलिकुदको पुरुष क्रिकेट अन्तर्गत नेपालले शुक्रबार सम्पन्न खेलमा माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ ।

टियु मैदानमा सम्पन्न खेलमा नेपालले दिएको १६४ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सले २० ओभरमा ६ विकेट गुमाएर ७९ रन मात्र बनाउन सकेको हो ।

माल्दिभ्सको लागि मोहमद आजमले सर्वा्धिक १७, मोहमद रिश्वानले १३, इब्राहिम हसनले १२ तथा अलि इभानले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालको बलिंगमा देब्रे हाते स्पिनरद्वय सुशन भारि र ललित राजबंशीले समान २–२ विकेट लिए। पवन सर्राफले १ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाएको थियो । नेपालको लागि करन केसीले सर्वाधिक ४० रन बनाए । केसीले १६ बलमा ४ छक्का र २ चौका प्रहार गरे ।

यस्तै दिपेन्द्र ऐरीले ३९, आरिफ शेखले १७, ज्ञानेन्द्र मल्लले १९ तथा पारस खड्काले ११ रन बनाए । माल्दिभ्सको बलिंगमा लिम शफिकले सर्वा्धिक ३ विकेट तथा अमिल मौरुफले २ विकेट लिए । खेलको प्लेयर अफ द म्याच करन केसी चुनिए ।

यो जितसँगै ३ खेलबाट ४ अंक जोडेको नेपाल अंकतालिकाको तेस्रो स्थानमा छ । लिग चरणको अन्तिम खेलमा शनिबार नेपालले बंगलादेशको सामना गर्दैछ । नेपालले यो खेल जित्न सके फाइनलमा पुग्ने सम्भावना समेत रहनेछ ।

(तस्विर: विकेटनेपालबाट सांभार)


प्रतिक्रिया दिनुहोस

Loading...